एन प्याब्सन कास्कीको दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव सुरु - EDUCATION NEWS NEPAL

अपडेट

Thursday, December 11, 2025

एन प्याब्सन कास्कीको दोस्रो बृहत् बाल प्रतिभा पहिचान महोत्सव सुरु


पोखरा ।
नेसनल प्याब्सन, कास्कीको आयोजनामा बुधबार देखि दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव– २०८२ शुरु भएको छ ।

महोत्सव मंसिर २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्रमा चल्ने छ । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् ।  विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ ।

बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि,  हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको छ ।

अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता जनाउने छन्।

महोत्सवको उद्घाट गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले बालबालिकाको क्षमता उजागर गर्ने काम यस महोत्सवले गरेको बताए । ‘वाल वालिकामा हुने हरेक खालका प्रतिभाका वारेमा राज्य, परिवार र विद्यालय मिलेर उजगर गर्ने काम गर्नु पर्दछ’ उनले भने, ‘तब मात्र वाल वालिकाका ति क्षमताले समाजलाई अभूतपूर्ण योगदान पुग्नेछ ।’ उनले कितावी ज्ञान मात्र नभई व्यवहारिक ज्ञानमा पनि वालवालिकालाई सरिक गराउनु पर्ने उल्लेख गरे ।

नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेले एन प्याब्सन कास्कीले गरेका हरेक गतिविध उत्कृष्ट रहेको बताए । ‘हरेक विद्यार्थीले केहि न केहि क्षमता लिएर आएका हुन्छन्, ती प्रतिभा पहिचान गर्न सके मात्र हरेक विद्यार्थी आफ्नो क्षत्रमा विशिष्टता गर्नेछन्’ उनले भने, ‘यस्तै एक ठाउँमा विविध खालका कार्यक्रमको आयोजना गरेर एन प्याब्सन कास्कीले विद्यार्थी क्षमता उजागर गर्ने काम गरेको छ ।’ उनले अवको शिक्षा जिवन, जगत् र प्रविधिसँग जोडिने खालको हुनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड, गण्डकी प्रदेश पोखराका निर्देशक भाष्करराज पन्त, नेसनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश खड्का, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल र वड्स एकेडेमीकी छात्रा नितु भण्डारीले बोलेका थिए । महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गरेका छन्  ।

यता क्रिकेट प्रतियोगिताको उपाधि कास्की मोडर्नाइज्ड एकेडेमीले हात पारेको छ ।  मंगलबार भएको फाइनल खेलमा त्रिबेणी पब्लिक माविलाई १९ रनले पराजित गर्दै कास्कीले उपाधि चुमेको हो । गत वर्षबाट एन प्याब्सन कास्कीले क्रिकेट प्रतियोगिता शुरु गरको थियो। जसमा गत वर्ष पनि कास्की र त्रिबणी फाइनलमा पुग्दा कास्की विजेता बनेको थियो ।

टस जितेर फिल्डिङ रोजेको त्रिबेणीले कास्कीलाई ब्याटिङको निम्ता दिएको थियो । ब्याटिङमा उत्रिएको कास्कीले १० ओभरमा ७ विकेटको क्षतीमा ६६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको त्रिबेणीले १० ओभरमा ९ विकेटको क्षतीमा ४६ रन बनाएको थियो । उक्त प्रतियोगितमा ज्ञानज्योति विद्याकुञ्ज मा.वि. नेसनल व्रिmयसन एकेडेमी तृतीय भए । प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको थिए । खेलकुद प्रतियोगिता मंसिर २० देखि २३ गते सम्म पोखरा रङ्गशालामा भएको थियो । कक्षा ११, १२ को फुटसल प्रतियोगिताको उपाधि न्यू ग्यालेक्सी जितेको छ ।

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

बालबालिकाको प्रतिभा पहिचान गरी प्रेरित गर्न जरुरीः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बालबालिकाको सर्वाङ्गिण विकासका लागि ख्याल गर्नुपर्ने बताएका छ । उनले सानै उमेरमा उनीहरुमा अन्तरनिहित प्रतिभाको पहिचान गरी प्रेरित गर्न जरुरी रहेको उल्लेख गरे।

नेशनल प्याब्सन, कास्कीको आयोजनामा पोखरामा सञ्चालित दोस्रो बृहत् बालप्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै प्रदेश प्रमुख भट्टले महोत्सवले बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान दिने अपेक्षा गरे ।

‘आजको समय सिर्जनात्मकता, नवीनता र समस्या समाधान क्षमताले भरिएको छ । बाल प्रतिभाहरूलाई सही वातावरण, उत्प्रेरणा र प्रोत्साहन दिएर हुर्काउन सकियो भने उनीहरूले समाजमा अभूतपूर्व योगदान दिन सक्छन् ।’ उनले भने– ‘यसका लागि परिवार, विद्यालय र राष्ट्र तीनै तहबाट समानरूपमा सहयोग आवश्यक छ । बालबालिकाको विचार सुन्ने, उनीहरूको जिज्ञासालाई सम्मान गर्ने, गल्तीलाई सिकाइको अवसरका रूपमा लिन मद्दत गर्ने संस्कृति विकास गर्न जरुरी छ ।’

बालबालिकालाई आत्मविश्वासी, सिर्जनशील, जिम्मेवार र सकारात्मक व्यक्तित्वका रूपमा ढाल्ने आधार यस्तै प्रकारका कार्यक्रम रहेको बताउँदै उनले प्रतिभा पहिचान र प्रशंसा भएपछि बच्चाको मनोबल बढ्ने र उनीहरूमा सिक्ने चाहना प्रबल हुनुका साथै आफ्नो क्षमताप्रति आफै गर्व महसुस गर्ने बताए ।


उनले भने– ‘हामी सबैले बालबालिकाको रुचि, क्षमता र कल्पनाशक्तिलाई पहिचान गरी तिनलाई सही दिशामा अगाडि बढाउन प्रेरित गर्नुपर्छ ।’ बालबालिकाको प्रतिभालाई बुझ्ने, मूल्याङ्कन गर्ने र प्रोत्साहन दिने वातावरण बनाउन अब ढिलाई गर्न नहुने बताउँदै उनले विद्यालयहरु बालबालिकाको सिर्जनशीलताको सहजीकरणमा बढी सजग हुन आवश्यक रहेकोमा जोड दिए ।    

बुधबारदेखि मंसिर २६ गतेसम्म पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सञ्चालन हुने महोत्सवमा एनप्याब्सन कास्कीमा आवद्ध ४३ विद्यालयका विद्यार्थीहरुबिच सामूहिक लोक नृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकलाअन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्री र अङ्ग्रेजी वक्तृत्वकला लगायतका कार्यक्रम हुँदै छन् ।