मोहोरियामा कौशिलादेवी मन्दिरको उद्घाटन - EDUCATION NEWS NEPAL

अपडेट

Friday, December 5, 2025

मोहोरियामा कौशिलादेवी मन्दिरको उद्घाटन

 




पोखरा । कास्कीको रूपा गाउँपालिका वडा नं. ६, मोहोरियास्थित कौशिलादेवी मन्दिरको पुनः निर्मित मन्दिरको उद्‌घाटन भएको छ ।

कौशिलादेवी पुनःनिर्माण समितिका अध्यक्ष गेसबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजसेवी क्या. चन्द्रजङ गुरूङले रिबन काटी गरेका थिए । कार्यक्रममा युकेमा बस्ने मोहोरिया गाउँलेहरूको प्रतिनिधित्व गर्दै युके निवासी मन्दिरका पूर्व पुजारीसमेत रहेका रूद्र घोताने विशेष अतिथि रहेका थिए ।

मोहोरिया गाउँ स्थायी ठेगाना भई हाल देश विदेशमा रहेका व्यक्तित्वहरू र मोहोरिया गाउँका चेलिबेटीहरूबाट सहयोग रकम सङ्कलन गरी कौशिलादेवी, भयर थानको मन्दिर, जमिन सम्याउने काम, रेलिङ निर्माण, मौला निर्माण गरिएको समितिका कोषाध्यक्ष होटबहादुर गुरुङले जानकारी दिए । मन्दिरको मुख्य मुर्ति स्व. पाइलट चेतबहादुर गुरुङको स्मृतिमा उनकी धर्मपत्नी पुनम गुरूङले, दुवै मन्दिरको गजुर मनबहादुर गुरुङले प्रदान गरेका थिए । मन्दिर निर्माणका लागि ५१ लाखभन्दा धेरै रकम सङ्कलन भएको र त्यसमध्ये हालसम्म ४३ लाख खर्च गरी बाँकी रकमले थप काम गर्ने पनि गुरूङले जानकारी दिए ।

कार्यक्रममा मन्दिरको इतिहासबारे बोल्दै बेलहादुर गुरुङले बाजे बराजुको पालादेखि नै मन्दिर रहेको र मन्दिरमा भाकल गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास रहेको बताए । मन्दिर सञ्चालनका लागि पहिले पहिले मुखियाले भोग दिनको लागि बाख्राको व्यवस्था गरिदिने गरेको र पछि समय परिवर्तनसँगै हाल समितिमार्फत पूजाआजाका क्रियाकलाप सञ्लन हुने उनले जानकारी दिए ।

कार्यक्रमका अधिकांश वक्ताहरूले देवीको मन्दिर देशविदेशमा रहेका गाउँलेहरूको एकताको प्रतीक रहेको र यसको संरक्षण गर्नु सबैको दायित्व रहने कुरामा जोड दिए ।

कार्यक्रमका विशेष अतिथि रूद्र घोतानेले समय परिस्थितिले जहाँ बस्नुपरे पनि गाउँको माया सधैँ रहने र गाउँको लागि जहिले पनि सहयोग गर्न तयार रहेको बताउँदै गाउँका क्यान्सरपिडित प्रेम गुरुङका लागि युकेमा सङ्कलित रकम २ लाख, गाउँको आमा समूह, बाबा समूह र क्लबका लागि १०/१० हजार रुपियाँ रकम वितरण गरे ।

मोहोरिया थातथलो भई अहिले विभिन्न स्थान बसोबास गरेका व्यक्तिहरू, छिमेकी गाउँका प्रतिनिधिहरू सहभागी उक्त कार्यक्रममा मन्दिर निर्माणका लागि सहयोग गर्ने व्यक्तित्वहरूलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव रोशन गुरुङले गरेका थिए ।