प्रथम हेमजा साहित्य महोत्सव मङ्सिर १९ देखि, देशभरका १ सय बढी चर्चित स्रष्टाहरूको उपस्थिति रहने - EDUCATION NEWS NEPAL

अपडेट

Thursday, December 4, 2025

प्रथम हेमजा साहित्य महोत्सव मङ्सिर १९ देखि, देशभरका १ सय बढी चर्चित स्रष्टाहरूको उपस्थिति रहने

 


पोखरा, मङ्सिर १८ गते । हेमजामा हुन लागेको प्रथम साहित्य महोत्सवको तयारी पूरा भएको छ ।  मूल आयोजक समितिका अध्यक्ष शङ्करमणि त्रिपाठी ‘छन्दमणि’ का अनुसार विभिन्न उपसमितिले आआफ्नो तयारी पूरा गरेका छन् । महोत्सव मङ्सिर १९ र २० गते हेमजाको ज्ञानसागर एकेडेमीमा हुने छ ।

विशुद्ध मौलिक साहित्य महोत्सवका रूपमा रहेको यो महोत्सवमा कास्की जिल्लाबाहिरबाट १ सय बढी साहित्यकार र एउटै मञ्चमा देखा पर्ने छन् । दुईदिने महोत्सवमा देशभरका चर्चित कवि, लेखक, कलाकार तथा स्रष्टाहरूको उपस्थिति रहने छ ।

‘मौलिक पहिचानको संरक्षण र संवर्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो महोत्सवमा देशभरका प्रख्यात साहित्यकार एउटै मञ्च देख्न पाइने छ’ संयोजक छन्दमणिले भने, ‘साहित्यका बारेमा जानकारी लिन र साहित्यको स्वाद लिन यो महोत्सव नछुटाउनुहोला ।’

हेमजामा पहिलो पटक आयोजना गरिएको हेमजा साहित्य महोत्सवमा १९ गते साहित्यका कार्यक्रम र २० गते कविवर मुकुन्दशरण उपाध्याय रथारोहण एवम् अभिनन्दन कार्यक्रम रहेको मूल आयोजक समितिका महासचिव शिव त्रिपाठीले जानकारी दिए ।

महोत्सवको १९ गते जिल्लाबाहिरबाट आएका साहित्यकारले आआफ्ना सिर्जना प्रस्तुत गर्ने छन् । जसअन्तर्गत कविता, गीत, गजल, मुक्तक लघुकथा वाचन रहने छ भने नाटक तथा रङ्गमञ्च, महाकाव्य लेखन, आख्यान लेखनसम्बन्धी परिसंवाद कार्यक्रम रहेको त्रिपाठीले जानकारी दिए ।

साहित्य, संस्कृति र समग्र हेमजाको पहिचान दिलाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सफल बनाउन स्थानीय समुदाय, साहित्यिक संस्था, विद्यालय तथा स्वयम्‌सेवी समूहहरूको सहयोग रहेको उनले जानकारी दिए ।

विशेष गरी साहित्य, संस्कृतिचेतना र काव्यिक योगदानका आधारमा कविवर मुकुन्दशरण उपाध्यायलाई रथारोहणसहित अभिनन्दन गर्ने कार्यक्रम महोत्सवको मुख्य आकर्षण बनेको छ । रथारोहण कार्यक्रममा कविवर उपाध्यायको साहित्यिक यात्राका महत्त्वपूर्ण पक्षहरू प्रस्तुत गरिएको सांस्कृतिक झाँकीसहित विविध प्रस्तुतिहरूसमेत रहने संयोजक त्रिपाठीले जानकारी दिए ।

महोत्सवका क्रममा कविता वाचन, पुस्तक विमोचन, साहित्यिक परिसंवाद, सांस्कृतिक प्रस्तुति तथा स्थानीय कला–संस्कृतिको प्रदर्शनीसमेत हुने छ ।

दुई दिनसम्म हेमजामा आयोजना हुने यो कार्यक्रम नेपालको साहित्यिक क्षेत्रमा महत्त्वपूर्ण सावित हुने विश्वास आयोजकले लिएको छ ।