एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिताको तयारी पूरा - EDUCATION NEWS NEPAL

अपडेट

Thursday, December 4, 2025

एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिताको तयारी पूरा

 


पोखरा, मङ्सिर १८ गते । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ ।

बाल प्रतिभा पहिचान मङ्सिर २४ देखि २६ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मङ्सिर २० देखि २३ गतेसम्म पोखरा रङ्गशालामा हुने छ । कार्यक्रमको औपचारिक उद्घाटन भने मङ्सिर २४ गते हुने छ । कार्यक्रम सम्पन्न गर्नका लागि गठित विभिन्न उपसमितिले तयारी पूरा गरेका एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार प्रतियोगितामा एन प्याब्सन कास्कीमा आबद्ध विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने छन् ।  प्रतियोगितामा एन प्याब्सनमा आबद्ध ४३ ओटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफी र मेडल प्रदान गरिने छ ।

 महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गर्न सक्ने भएकाले सहभागिता व्यापक रहने अधिकारीले जानकारी दिए ।  ‘यो महोत्सव विद्यार्थीहरुको अन्तर्निहित प्रतिभा प्रस्तफुटन मात्र नभई सिकाइको थलो पनि हुने हामीले विश्वास लिएका छौँ’ उनले भने, ‘यो महत्त्वपूर्ण अवसरलाई सदुपयोग गर्नका लागि महोत्सव अवलोकन गर्न सम्पूर्ण कास्कीका विद्यार्थी तथा अभिभावकलाई निमन्त्रणा गर्दछौँ ।’

बाल प्रतिभा पहिचानअन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि,  हस्तकलाअन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारी दिए ।  

अङ्ग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने अन्य प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहने एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए ।

त्यसैगरी खेलकुदतर्फ छात्र क्रिकेट प्रतियोगिता र छात्र फुटसल प्रतियोगिता रहेको छ । क्रिकेटतर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउने छन् भने फुटसलतर्फ कक्षा ११ र १२ का विद्यार्थीले मात्र सहभागिता जनाउने कोषाध्यक्ष राजु केसीले जानकारी दिए ।

मङ्सिर २० गतेदेखि सुरु हुने क्रिकेट प्रतियोगिताको उद्घाटन खेल अल्फा एकेडेमी र सिद्धार्थ लवडेलबिच हुने भएको छ भने फुटसलतर्फ उद्घाटन खेल नेसनल क्रियसन र न्यू ग्यालेक्सीबिच हुने छ । दुवै खेल पोखरा रङ्गशालामा हुने छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि उपसमितिअन्तर्गत सामूहिक लोकनृत्य प्रतियोगिताको संयोजकमा शिवराज पौडल तथा सदस्यहरुमा पितृराज अधिकारी र विक्रम सुवेदी रहेका छन् । एकल गायन प्रतियोगिताको संयोजकमा अर्जुनप्रसाद अधिकारी तथा सदस्यहरुका हेम रानाभाट, रुद्रप्रसाद अधिकारी साथै सल्लाहकारमा तिलकप्रसाद अधिकारी रहेका छन् ।

त्यसैगरी चित्रकला प्रतियोगिताको संयोजकमा विष्णुप्रसाद पौडेल तथा सदस्यहरुमा मित्र राई र सुरेशराज पाण्डे रहेका छन् । कविता वाचन प्रतियोगिताको संयोजकमा हरिराज अधिकारी तथा सदस्यहरुमा विक्रम सुवेदी र भुवन पौडेल रहेका छन् । अभिनय प्रतियोगिताको संयोजकमा विक्रम सुवदी तथा सदस्यहरुमा दिपु भारी र अशोक शर्मा रहेका छन् ।

विज्ञान तथा प्रविधि प्रतियोगिताको संयोजकमा तोलाकान्त न्यौपाने तथा सदस्यहरूमा अजय थापा र शालिग्राम पराजुली रहेका छन् । हस्तकला प्रतियोगिताको संयोजकमा रमेशराज पौडेल तथा सदस्यहरुका गगन गुरुङ र सोमनाथ पौडेल रहेका छन् । अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिताको संयोजकमा हेम रानाभाट तथा सदस्यहरुमा हरि धमला र मित्र राई रहेका छन् ।

त्यसैगरी खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट प्रतियोगिताको संयोजकमा ज्ञानेन्द्रबहादुर थापा तथा सदस्यहरूमा हिमाल गुरुङ र देवराज कार्की रहेका छन् । फुटसल प्रतियोगिताको संयोजकमा अर्जुनप्रसाद पाण्डे तथा सदस्यहरूमा ज्ञानेन्द्रबहादुर थापा, हिमाल थापा र सल्लाहकारमा केशवशरण पौडेल रहेका छन् ।