पोखरा,
माघ ५ गते । लमजुङको मध्यनेपाल-५, समिभन्ज्याङमा क्रियाशील
कायापलट असल शासन क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि आयोजक कायापलटले
जितेको छ ।
क्लबले
आफ्नो रजत जयन्तीका अवसरमा आयोजना गरेको प्रतियोगितामा कायापलटले ठकुरी समाज,
शुक्लागण्डकी-१, तनहुँलाई ३-२ सेटको अन्तरमा पराजित गरेको हो । विजेताले कायापलटले
४७ हजार रुपियाँ, रनिङ सिल्ड, मेडल र प्रमाणपत्र हात पार्दा ठकुरी समाजले २७ हजार,
मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा तृतीय भएको माउडाँडा सिद्धेश्वर
युवा क्लब, रूपा-४, कास्कीले १२ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा ठकुरी समाजका कृष ठकुरी उत्कृष्ट खेलाडी, ठकुरी समाजकै परासर ठकुरी बेस्ट
लिफ्टर, कायापलटका कुशल श्रेष्ठ बेस्ट स्पाइकर र कायापलटकै सन्देश शाही बेस्ट
ब्लकर घोषित भए । माघ १ गतेदेखि सञ्चालित प्रतियोगितामा १६ टिमले भाग लिएका थिए ।
प्रतियोगिताका
विजेताहरूलाई प्रमुख अतिथि प्रथम पुरस्कार प्रायोजक सन्तबहादुर थापा, वडाअध्यक्ष
ओमवीर गुरुङ, संस्थापक अध्यक्ष बालकुमार जोशीलगायतले पुरस्कार वितरण गरेका थिए ।
यसै
गरी, महिलातर्फ दमौली भलिबल समूह, व्यास नगरपालिका, तनहुँले बन्दीपुर भलिबल
क्लबलाई २-० को सोझो सेटमा पराजित गर्दै उपाधिसहित नगद १५ हजार, रनिङ सिल्ड, मेडल
र प्रमाणपत्र जितेको छ भने दोस्रो भएको बन्दीपुरले १० हजार रुपियाँ, मेडल र
प्रमाणपत्र प्राप्त गरेको थियो ।
महिलातर्फ,
दमौली भलिबल क्लबकी सीता थापा उत्कृष्ट खेलाडी, सोही क्लबकी सरक्षा आले बेस्ट
स्पाइकर र बन्दीपुर भलिबल क्लबकी दीपा गुरुङ बेस्ट लिफ्टर घोषित भइन् ।
यसै
बिच, क्लबले आफ्नो रजत जयन्तीकै अवसरमा आयोजना गरेको महिला डोरी तान्ने प्रतियोगितामा
नेवाः माङ पुचः पहिलो भएर ८ हजार नगद जितेको थियो । त्यसै गरी लालीगुराँस मुमा
समूह दोस्रो र दिदीबहिनी समूह, भोर्लेटार तृतीय भएका थिए ।
२०५७
सालमा स्थापना भएको क्लबले हरेक वर्ष माघे सङ्क्रान्ति तथा आफ्नो वार्षिकोत्सवका अवसरमा
भलिबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
प्रतियोगिताका
प्रथम पुरस्कार प्रायोजक सन्तबहादुर थापा र मैना थापा, द्वितीय पुरस्कारका
प्रायोजक प्रेमलाल श्रेष्ठ र विष्णुमाया श्रेष्ठ तथा तृतीय पुरस्कार कृष्णमान जोशी
र कृष्णकुमारी जोशीले रहेका थिए । यस्तै महिला भलिबलतर्फको प्रथम पुरस्कार कविता श्रेष्ठ,
शिव श्रेष्ठ र शिवम् श्रेष्ठले तथा द्वितीय पुरस्कार करिना श्रेष्ठ र सन्तोष श्रेष्ठले
प्रायोजन गरेका थिए । डोरी तान्ने प्रतियोगिताका सम्पूर्ण पुरस्कार क्लबका
पूर्वखेलाडी अमृत गुरुङले गरेको क्लबका उपाध्यक्ष कुसुम श्रेष्ठले जानकारी दिए ।
क्लबका
अध्यक्ष बाबुराम मल्लको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष बालकुमार
जोशी र संस्थापक सचिव रुपिन्द्र प्रभावीले क्लब स्थापना र सङ्घर्षका प्रसङ्ग
सुनाएका थिए । कार्यक्रममा मध्यनेपाल-५ का वडाअध्यक्ष तथा क्लबका पूर्वअध्यक्ष
ओमवीर गुरुङ, मध्यनेपाल-४ का वडाअध्यक्ष रामबहादुर श्रेष्ठलगायतले क्लबले स्थानीय
स्तरमा खेलका माध्यमबाट युवाहरूमा जागरण ल्याउनका लागि खेलेको भूमिकाको प्रशंसा
गरेका थिए । क्लबका सचिव इभन जोशीले कार्यक्रम सञ्चालन गरेका थिए ।
