तनहुँ, वैशाख २५ गते । तनहुँको भिमाद नगरपालिका, वडा नम्बर ६ मा सञ्चालित जनज्योति माध्यमिक विद्यालयमा बालक्लबका अध्यक्ष, विद्यालय क्याप्टेन र सहायक क्याप्टेन छनोटका लागि निर्वाचन सम्पन्न भएको छ । वैशाख २१ गते सार्वजनिक गरिएको निर्वाचन कार्यतालिकाअनुरूप मतदान कार्यक्रम सम्पन्न भएको विद्यालयका सहायक प्रधानाध्यापक सुरज लम्सालले जानकारी दिए ।
बालक्लबको अध्यक्षमा
मार्कर चिह्नमा दीक्षा लामिछाने, डस्टर चिह्नमा विन्दु रसाइली
र किताब चिह्नमा क्याट्रिना श्रेष्ठको उमेदवारी रहेको थियो । मतदान प्रक्रियाबाट
बालक्लबको अध्यक्ष पदमा सबैभन्दा बढी १०४ मत ल्याएर क्याट्रिना श्रेष्ठ विजयी भएकी
छन् । प्रतिद्वन्द्वी विन्दु रसाइलीले ८८ र दीक्षा लामिछानेले ७७ मत प्राप्त गरेका
छन् ।
त्यसै गरी विद्यालय
क्याप्टेनमा क्यालेन्डर चिह्नमा रेनु अछामी, बस चिह्नमा
सपना श्रेष्ठ र कम्युटर चिह्नमा प्रतिष्ठा रतनको उमेदवारी रहेको थियो । १३७ मत
ल्याएर प्रतिष्ठा रतन विजयी भएकी छन् । त्यसैगरी रेनु नेपालीले ९९ र सपना श्रेष्ठले
३४ मत प्राप्त गरेका थिए । सहक्याप्टेनमा बेल्ट चिह्नमा कुन्जल श्रेष्ठ र टाइ चिह्नमा
सुसना विकको उम्मेदवारी परेकामा १७२ मत ल्याएर कुन्जल श्रेष्ठ विजयी भएकी छन् । त्यसैगरी
सुसना विकले १०० मत ल्याएर उपविजेता भएकी छन् ।
रेडक्रसको अध्यक्षमा
सगुन मरासेनी र बालक्लबको उपाध्यक्षमा
अनुष्का तिमल्सिना निर्विरोध निर्वाचित भएका थिए । कक्षा ६ देखि १० सम्मका जम्मा
२८७ जना विद्यार्थीहरूले मतदान गरेका थिए । नेपालको निर्वाचन प्रक्रियाका सम्पूर्ण
चरण पूरा गरी मतदान कार्य सम्पन्न भएको सहायक प्रधानाध्यापक लम्सालले बताए । मतदान
अधिकृतदेखि पर्यवेक्षक, मतदान कर्मचारीको भूमिकामा समेत
विद्यार्थीहरू नै सक्रिय रूपमा रहेका थिए । निर्वाचन प्रहरीको रूपमा विद्यालयमा
सञ्चालित स्काउटका विद्यार्थीहरूले भूमिका निर्वाह गरेका थिए । कार्यक्रमले
विद्यार्थीहरूमा आफ्ना प्रतिनिधि छनोटको वास्तविक र व्यावहारिक ज्ञान प्रदान गर्ने
प्रधानाध्यापक गणेश सुवेदीले विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष
दयानिधि पौडेलले विद्यार्थीहरूको सक्रियताको प्रशंसा गरे ।
