रेडक्रसद्वारा चित्रकला प्रतियोगिता सम्पन्न

 


पोखरा, साउन २३ गते । नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा कास्की, जुनियर युवा समितिको आयोजना तथा जुनियर रेडक्रस सर्कल रत्नज्योति माध्यमिक विद्यालय, पोखरा–८, रत्नचोकको व्यवस्थापनमा जिल्लास्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

‘विपद् र सुरक्षित समुदायको निर्माण’, ‘प्राकृतिक सौन्दर्य’ तथा ‘डिजिटल युग र सचेत नागरिक’ विषयमा आधारित प्रतियोगितामा कास्कीका ५५ वटा विद्यालयका जुनियर युवा रेडक्रस सर्कलको सहभागिता रहेको थियो ।

जुनियर रेडक्रस सर्कल रत्नज्योति माध्यमिक विद्यालयका अध्यक्ष संस्कार भुसालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले चित्रकला बालबालिकाको सिर्जनात्मक क्षमता, कल्पनाशक्ति र अभिव्यक्ति विकास गर्ने प्रभावकारी माध्यम भएको बताए । उनले रेडक्रसको मानवीय भावना, विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण तथा सुरक्षित समुदाय निर्माण जस्ता विषयलाई कलामार्फत विद्यार्थीसमक्ष पुर्‍याउनु अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरे ।

विशेष अतिथि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति उर्मिला खड्का भण्डारीले विद्यार्थीमा सानै उमेरदेखि सेवा, सहयोग, मानवता र स्वयंसेवी भावनाको विकास गराउन यस्ता सिर्जनात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले जुनियर युवा रेडक्रसको गतिविधिलाई केवल प्रतियोगितामा सीमित नराखी विपद् व्यवस्थापन, मानवीय सेवा र सामाजिक उत्तरदायित्वसँग जोड्दै लैजानुपर्नेमा जोड दिएकी थिइन् ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका उपमन्त्री एवम् जुनियर युवा समितिका संयोजक डिल्लीराम बरालले प्रतियोगिताको उद्देश्य र औचित्यमाथि प्रकाश पार्दै चित्रकलाले विद्यार्थीमा रहेको सिर्जनशीलता, मौलिकता, सामाजिक सेवाको भावना तथा मानवताको चेतना उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । विपद्को जोखिम न्यूनीकरण, सुरक्षित समुदाय निर्माण, प्राकृतिक सौन्दर्यको संरक्षण तथा डिजिटल युगमा सचेत नागरिक निर्माणका विषयलाई चित्रमार्फत अभिव्यक्त गराउँदा विद्यार्थीमा जिम्मेवार नागरिक तथा भविष्यका स्वयम्‌सेवक बन्ने आधार तयार हुने उनको भनाइ थियो । बरालले यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समाज र समुदायप्रति उत्तरदायी बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

सो कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, रेडक्रस कास्कीका जिल्ला सदस्य खगेन्द्रराज पराजुली, सदस्य सूर्यप्रसाद तिमिल्सिना, बबिता सुवेदी, जुनियर युवा समितिका सदस्य शर्मिला बराल सापकोटा तथा सदस्य कीर्तिराज ढकाल एवम् कार्यालय प्रमुख कृष्णप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।

चित्रकला प्रतियोगिताको निर्णायक संयोजकका रूपमा राइट फर चिल्ड्रेनका आर्ट प्रोजेक्ट कोअर्डिनेटर रविन नेपाली, कलाकार स्टार आर्ट्सका प्रोपाइटर  विनोद थापा तथा आयोजकका तर्फबाट जुनियर युवा संयोजक डिल्लीराम बराल रहेका थिए । निर्णायकहरूले चित्रका विषयवस्तुको सान्दर्भिकता, सिर्जनशीलता, मौलिकता, कलात्मक प्रस्तुति तथा सामाजिक सन्देशका आधारमा उत्कृष्ट चित्र छनोट गरेका थिए ।

प्रतियोगितामा सिर्जना सेकेन्डरी स्कुलका छात्र कृष बानियाले प्रथम स्थान हासिल गरेका छन् । मदरल्यान्ड माध्यमिक विद्यालयकी छात्रा एन्जेल नेपालीले द्वितीय, कास्की मोडर्नाइज्ड एकेडेमीकी छात्रा युना आलेले तृतीय स्थान प्राप्त गरेका छन् । त्यसै गरी कालिका माध्यमिक विद्यालय, रामबजारकी छात्रा  सङ्गीता नेपाली  तथा बालमन्दिर माध्यमिक विद्यालय, नदीपुरका छात्रा आस्था गुरुङले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

कार्यक्रममा विद्यालयका प्राचार्य विष्णुप्रसाद भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन शिक्षक नायक सुस्मिता पौडेलले गरेकी थिइन् ।

Post a Comment

0 Comments