गण्डकी आदर्श एकेडेमीको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस - EDUCATION NEWS NEPAL

अपडेट

Thursday, February 19, 2026

गण्डकी आदर्श एकेडेमीको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस



पोखरा, फागुन ७ गते । पोखरा महानगरपालिका, वडा नम्बर १३, लामोडहरस्थित गण्डकी आदर्श एकेडेमीको २७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस बिहिवार सम्पन्न भएको छ ।

गण्डकी आदर्श एकेडेमी प्रालिका अध्यक्ष खड्गबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. कृष्णराज अधिकारीले नेपालको शैक्षिक क्षेत्रमा निजी क्षेत्रले पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको धारणा राखे । उनले गण्डकी आदर्श एकेडेमीको नयाँ टिमले गरेको प्रयास आशालाग्दो भएको भन्दै यसले पोखराको शैक्षिक क्षेत्रमा थप टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।

विद्यालयकी प्रिन्सिपल मञ्जु सापकोटाले शैक्षिक प्रतिवेदन पेस गर्दै विद्यालय नयाँ सोच र नयाँ शैलीका साथ नाफालाई भन्दा शैक्षिक उन्नतिलाई महत्त्व दिएर अगि बढेको जानकारी दिइन् । उनले विद्यालयमा नयाँ टिम आएपछि भौतिक, शैक्षिक तथा प्रशासनिक क्षेत्रमा व्यापक सुधार गरेको भन्दै स्थानीय समुदायले दिएको साथप्रति धन्यवाद दिइन् । “बालबालिकालाई पढाइका साथै आफूभित्र अन्तर्निहित प्रतिभा प्रस्फुटनका लागि उत्प्रेरणामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ” सापकोटाले भनिन्, “हार्डवेयर र सफ्टवेयर दुवै पक्षको सुधारका लागि हामी अनेकौँ प्रयासमा लागेका छौँ ।”

कार्यक्रममा विद्यालयका निर्देशक कृष्णप्रसाद सापकोटाले मिहिनेती शिक्षक र लगनशील विद्यार्थीका साथै जिम्मेवार अभिभावकका कारण गण्डकी आदर्शको प्रगति हुँदै गएको अनुभव सुनाए । विद्यार्थीको हितका लागि विद्यालय सधैँ लागिपर्ने बताउँदै सापकोटाले पढाइका अलावा कला, साहित्य, खेलकुद, सङ्गीत, नाटकलगायतका कक्षा सञ्चालन गरिएको जानकारी दिए । आधुनिक शैक्षिक सोचअनुकूल हुने गरी शैक्षणिक गतिविधि सञ्चालन गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा हिसानका सल्लाहकार तथा ग्लोबल कलिजियट स्कुलका प्रिन्सिपल बाबुराम पन्तले गण्डकी आदर्शले अनुकरणीय प्रगति गरिरहेको आफूले पाएको सुनाए । उनले नयाँ टिमले लिएको छोटो समयमै गण्डकी आदर्शले सञ्चालन गरेका गतिविधिहरूले विद्यार्थीमा देखिएको परिवर्तन प्रशंसनीय भएको धारणा राखे ।

प्याब्सन, कास्कीका पूर्वअध्यक्ष तथा पूर्वकेन्द्रीय उपाध्यक्ष कृष्ण केसी, लामोडहर टोल विकास संस्थाका अध्यक्ष दुर्गा गुरुङ, वडा नम्बर १३ की वडा सदस्य तथा विद्यालय व्यस्थापन समितिकी सदस्य सूचिता तामाङ, अभिभावक सन्दिपकुमार पुनलगायतले शुभकामना दिएका थिए ।

सो अवसरमा प्रमुख अतिथि प्रा.डा. कृष्णराज अधिकारीलाई गण्डकी विश्वविद्यालयको उपकुलपति नियुक्त भएकामा बधाईसहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रिनर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति राखेका थिए । शिक्षकद्वय रङ्गीन बस्नेत र देवी गुरुङ तथा विद्यार्थीद्वय विद्या गुरुङ र स्वेच्छा विश्वकर्माको सञ्चालनमा भएको कार्यक्रममा १०+२ संयोजक वर्षा गुरुङले स्वागत गरेकी थिइन् ।

यसअगि राइजिङ स्टार स्कुलका रूपमा सञ्चालित विद्यालय नयाँ व्यवस्थापनले सम्हालेसँगै ‘हाम्रो प्रतिबद्धताः समुदायसँगको सहकार्यमा गुणस्तरीय शिक्षा’ भन्ने मूल मन्त्रसहित गण्डकी आदर्श एकेडेमीका नाममा सञ्चालित छ । विद्यालयमा कक्षा ११-१२ मा होटल व्यवस्थापन समूहको पठनपाठन भइरहेको छ ।