रमेश र कर्णलाई साहित्य सङ्गम चितवनको सम्मान



भरतपुर । चितवनका दुई स्रष्टाहरू समीक्षक रमेश प्रभात र इतिहासविद् कर्णबहादुर बानियाँलाई साहित्य सङ्गम चितवनले आइतवार सम्मान गरेको छ । प्रगतिवादी कवि युद्धप्रसाद मिश्रको ११७औँ जन्मजयन्तीको सन्दर्भमा स्रष्टाहरू प्रभात र बानियाँलाई सम्मानित गरिएको हो ।

रमेश प्रभातलाई "डिल्लिराम–धनसरा पौडेल स्मृति पुरस्कार–२०८०" बाट सम्मानित गरिएको हो । यो पुरस्कार साहित्यकार पोषराज पौडेल र परिवारजनले स्थापना गरेका हुन् ।

यसै गरी "खिमा–केशरीरमण खनाल स्मृति पुरस्कार–२०८०" बाट इतिहासविद् तथा साहित्यकार प्राडा कर्णबहादुर बानियाँलाई सम्मानित गरिएको हो । यो पुरस्कार साहित्यकार खनाल रेवतीरमण र परिवारजनले स्थापना गरेका हुन् ।

आइतबार नारायणी नमूना मावि भरतपुरमा आयोजित कार्यक्रममा पुरस्कारका संस्थापक पोषराज पौडेल र खनाल रेवतीरमणले प्रभात र बानियाँलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् । पुरस्कारको राशि जनही १६ हजार ५ सय रुपैयाँ र सम्मानपत्र रहेको छ । यी दुबै पुरस्कार २०७९ सालदेखि व्यक्तित्वको आधारमा प्रदान गर्न थालिएको हो । पहिलोपटक स्रस्टाहरू पूर्णबहादुर अधिकारी र ईश्वरी ओझालाई यी पुरस्कार प्रदान गरिएको थियो ।

सम्मानपछि सम्मानित स्रस्टा प्रभातका बारेमा कवि एवम् अध्येता विपिन पाठकले बोलेका थिए । त्यसैगरी इतिहासविद बानियाँका बारेमा डिआर पोखरेलले बोलेका थिए । प्रकृति एवम् क्रान्तिप्रेमी कवि युद्धप्रसाद मिश्रका बारेमा भने समालोचक डाक्टर धनेश्वर भट्टराईले चर्चा गरेका थिए ।

साहित्यकार प्रभात वीरेन्द्र बहुमुखी क्याम्पसका नेपाली विभागका उपप्राध्यापक हुन् । उनी अक्षर समूह चितवनका अध्यक्ष पनि हन् । त्यसैगरी इतिहासविद् बानियाँ सेवानिवृत प्राध्यापक हुन् । उनीहरू दुवैले साहित्य र समालोचनाका क्षेत्रमा कलम चलाउँदै आएका छन् ।

Post a Comment

Previous Post Next Post