कञ्चनजङ्घा स्कुलको बाइसौँ वार्षिकोत्सव सम्पन्न



पोखरा । पोखरा महानगरपालिका -११, फूलबारीमा अवस्थित कञ्चनजङ्घा इङ्लिस बोर्डिङ स्कुलले आफ्नो बाइसौँ अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम आइतवार सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रुद्रकुमारी गुरुङ ‘मैना’ ले पछिल्लो समयमा निजी विद्यालयहरूलाई झनै चुनौती थपिँदै आइरहेकाले त्यसतर्फ सजग हुनुपर्ने कुरामा जोड दिइन् । वर्षैभरि विद्यालयमा सञ्चालित विभिन्न प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप र खेलकुदमा विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । साथै अनुशासन र सरसफाइमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई समेत पुरस्कृत  गरिएको थियो । शैक्षिक शत्र २०७९ को वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थीहरू र विभिन्न तहमा सर्वोत्कृट हुने विद्यार्थीहरू कक्षा नर्सरीदेखि यु.के.जी. सम्ममा अस्विन कार्की, कक्षा एकदेखि पाँचसम्ममा अभिषेक गुरुङ र कक्षा छदेखि दशसम्ममा रिनाशा शर्मालाई पुरस्कृत गरिएको थियो ।

अभिभावकहरूका तर्फबाट दीपक सारु मगरले शुभकामना मन्तव्य राख्दै आगामी दिनमा विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकास हुने खालमा कार्यक्रमलाई विशेष जोड दिन सल्लाह दिए । विद्यालयका प्रिन्सिपल मित्रलाल पोख्रेलले वार्षिक प्रतिवेदन पेस गर्दै विद्यालयले हरेक दुई वर्षमा आयोजना गर्दै आएको KEBS कपको बचत रकमको अक्षयकोष खडा गरी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आएको जानकारी दिए ।

विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त अवसरमा ज्येष्ठ नागरिकहरू हरिसुवा गुरुङ, सन्तुमाया भट्टाराई, मीनाकुमारी राई र पिपुलाकुमारी घिमिरेलाई सम्मानसमेत गरेको थियो ।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै राष्ट्रिय कलाकार ज्योति लोहनीको समेत साङ्गीतिक प्रस्तुति रहेको थियो । विद्यालय सञ्चालक समितिकी अध्यक्ष लक्ष्मीदेवी गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक सुरेन्द्र सदिच्छाले सञ्चालन गरेका थिए । कार्यक्रममा कक्षा ९ की विद्यार्थी जोस्ना गुरुङले स्वागत् मन्तव्य व्यक्त गरेकी थिइन् ।

Post a Comment

Previous Post Next Post