पोखरा, चैत ७ गते । नेपाली भाषा शिक्षक परिषद्, कास्की, नेपालको १६औँ साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ ।
परिषद्का अध्यक्ष
सूर्यप्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय
परीक्षा बोर्ड, प्रदेश परीक्षा व्यवस्थापन कार्यालय,
गण्डकीका प्रमुख सुवास पन्तले नेपाली भाषाको महत्त्वबारे प्रकाश
पार्दै भाषाको संरक्षण र विकासमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए । उनले
व्यक्तिको पहिचान र अस्तित्वसँग भाषा गहिरो रूपमा जोडिएको उल्लेख गर्दै विद्यालय
तहदेखि नै पठनपाठन तथा सहकार्यकलापहरू नेपाली भाषामै सञ्चालन गर्नुपर्नेमा जोड दिए
। साथै, सञ्चार, सम्पर्क र संवादमा
शुद्ध नेपाली भाषाको प्रयोग अपरिहार्य रहेको उनको धारणा थियो ।
कार्यक्रमको विशेष
आकर्षणका रूपमा लेखक, सम्पादक, विश्लेषक,
उत्प्रेरक तथा प्रतिष्ठित भाषाविद् प्रा.डा. माधवप्रसाद पोखरेललाई
सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्व पोखरलले नेपाली भाषा र नेपालको पहिचान
एकआपसमा अविच्छिन्न रूपमा जोडिएको बताए । खस भाषाबाट विकसित नेपाली भाषाको
ऐतिहासिक पृष्ठभूमि, ध्वनि विज्ञान तथा विकासक्रमबारे
विस्तृत जानकारी दिँदै उनले भाषाको संरक्षणमा सबै सचेत हुनुपर्ने धारणा व्यक्त गरे
। परिषद्ले उनलाई खादा, ढाका टोपी, माला,
दोसल्ला, मायाको चिनो तथा सम्मानपत्रले सम्मान
गरेको थियो ।
परिषद्का वरिष्ठ
उपाध्यक्ष विक्रम पौडेलको स्वागतमा भएको कार्यक्रममा सल्लाहकार प्रा.डा. रामनाथ
ओझा,
सहप्रा. डा. यमनाथ तिमिल्सिना, सहप्रा. डा.
पुण्यप्रसाद शर्मा, भाषाविद् माधवशरण उपाध्याय, उपप्रा. डा. बोधराज ढकाल, प्याब्सन कास्कीका अध्यक्ष
षडानन्द गौतम, एभरग्रिन एकेडेमी पोखराका निर्देशक किरण
सापकोटा, विज्ञान शिक्षक समाज कास्कीका उपाध्यक्ष सुनिल न्यौपानेलगायतले नेपाली
भाषाको विशेष महत्त्वका साथ परिषदले भाषिक अभियानमा खेलेको भूमिकाको प्रशंसा गरे ।
सो अवसरमा परिषद्ले
आयोजना गरेको माध्यमिक तह (कक्षा ११ र १२) स्तरीय निबन्ध प्रतियोगिताका विजयी
विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । प्रतियोगितामा गुरुकुल विद्या सदन, पोखराकी सोनिसो सुनार प्रथम, भद्रकाली मा.वि.की
सरिता वि.क. द्वितीय, मदरल्याण्ड मा.वि.की इक्विटी पौडेल
तृतीय तथा केफ मा.वि.की रोजिना अधिकारी सान्त्वना स्थान हासिल गर्न सफल भएका थिए ।
कार्यक्रमको बन्द
सत्रमा कोषाध्यक्ष हरिप्रसाद ढुङ्गाना तथा महासचिव शिवहरि सुवेदीद्वारा प्रस्तुत
प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन महासचिव
शिवहरि सुवेदी र सचिव शशी शिशिर ढुङ्गानाले गरेका थिए ।
‘भाषा सभ्यताको
संवाहक हो’ भन्ने मूल उद्देश्यका साथ स्थापित परिषद्ले नेपाली भाषा शिक्षकको
क्षमता विकास, विद्यार्थीहरूबिच प्रतियोगितालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ
।
