लघुकथा प्रतिष्ठानद्वारा पन्तको कथाकृतिको चर्चा - EDUCATION NEWS NEPAL

अपडेट

Saturday, March 21, 2026

लघुकथा प्रतिष्ठानद्वारा पन्तको कथाकृतिको चर्चा

 


पोखरा, चैत ७ गते । कथाकार महेश्वर पन्तको कथा सङ्ग्रह ‘धर्तीमुनिका तारा’ माथि शनिवार पोखरामा परिचर्चा गरिएको छ ।

लघुकथा प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा कृतिको परिचर्चा गर्दै पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष रीता अधिकारी ‘ऋतु’ ले डायस्पोरिक आत्म-अन्वेषणको एउटा महत्त्वपूर्ण कडीका रूपमा चित्रण गरिन् ।धर्तीमुनिका तारा’ मा पराई भूमिमा रहेका नेपालीहरूले भोग्नुपरेको पहिचानको सङ्कट, सांस्कृतिक द्वन्द्व र आन्तरिक छटपटीलाई सूक्ष्म ढङ्गले प्रस्तुत ऋतुले बताइन् । कथाकारले अमेरिकी समाजमा प्रवासीले भोग्नुपर्ने आर्थिक समस्या, भिसा तथा कानुनी झमेला र श्रम शोषणलाई यथार्थपरक ढङ्गले उतारेका बताउँदै उनले यसले विदेशमा चम्किने आशा बोकेर गएका तर त्यहाँको भिड र बाध्यतामा दबिएका नेपालीहरूको अदृश्य पीडालाई सङ्केत गरेको विचार राखिन् ।

‘कथाहरूमा गुन्यूचोली, दौरा सुरुवाल, मस्यौरा, गुन्द्रुक र दसैँको टीका जस्ता प्रसङ्गहरूले प्रवासी नेपालीहरूको आफ्नो मुलुकप्रतिको प्रगाढ माया र ‘नोस्टाल्जिया’ लाई जीवन्त बनाएको छ ।’ उनले भनिन्, ‘कथाकार पन्तले डायस्पोरालाई न त अस्वाभाविक रूपमा महिमामण्डन गरेका छन्, न त पूर्ण नकारात्मक रूपमा चित्रण गरेका छन्। उनले जीवनको उज्यालो र अँध्यारो दुवै पाटोलाई सन्तुलित रूपमा प्रस्तुत गरेका छन् ।’

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सरुभक्तले प्रवासमा रहेका नेपालीको नेपाली साहित्यका लागि दिएको योगदान अतुलनीय भएको बताए । उनले प्रवासमा रहेका साहित्यकारहरूले नेपाल र नेपालीको अनुभूति र मनोभावनालाई लेखिहाल्छन् किनभने त्यहाँ देशको सम्झना र अभाव धेरै हुने बताए ।

कथाकार पन्तले आफू प्रवासमा रहे पनि गाउँघरकै सपना देख्ने गरेको बताए । जहाज चढेर परदेशतिर गइरहँदा आँखाभरि स्वदेशकै तस्बिर छाइरहने बताउँदै पन्तले जहाँ रहे पनि नेपालीपन नजाने अनुभव सुनाए ।

सो अवसरमा अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के‍सी, अनेसास गण्डकीका अध्यक्ष देवेन्द्र केसी ‘देवु’, प्रा. डा. कुसुमाकर न्यौपानेलगायतले साहित्यकार पन्तको कथा सङ्ग्रह ‘धर्तीमुनिका तारा’ एक पटक पढ्नैपर्ने पुस्तक भएको बताए । अनेसास गण्डकीका अध्यक्ष देवेन्द्र केसी र असफल गौतमले कथाकार पन्तलाई सम्मान गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष कल्याण पन्तको अध्यक्षतामा भएको कार्यक्रममा हिममाया पौडेलले स्रष्टा परिचय प्रदान गरेकी थिइन् भने स्वागत प्रतिष्ठानकी उपाध्यक्ष गीता तिवारीले गरेको थिइन् । कार्यक्रमको सञ्चालन सचिव विष्णु बास्तोलाले गरेका थिए ।

पर्वतको फलेबास-२ मा जन्मेका पन्त विगत २६ वर्षदेखि अमेरिकाको बोस्टनमा बसोबास गर्दै आएका उनी साहित्य, सङ्गीत र सांस्कृतिक क्षेत्रमा क्रियाशील छन् । उनका ‘हराएको मान्छे (गजल सङ्ग्रह, २०११), ओझेल परेको जून (गीत सङ्ग्रह, २०१४), मुन्द्री (कथा सङ्ग्रह, २०१७), नबोल्नेहरू (कथा सङ्ग्रह, २०१९), उडेका पैताला (कविता सङ्ग्रह, २०२३), धर्तीमुनिका तारा (कथा सङ्ग्रह, २०८२), फुर्लुङ ( उपन्यास, २०२०) र बौलाको डायरी (उपन्यास, २०२२) प्रकाशित छन् ।