समता काव्य सन्ध्याको ३९२औं शृङ्खलामा प्रकटको सम्झना - EDUCATION NEWS NEPAL

अपडेट

Saturday, April 18, 2026

समता काव्य सन्ध्याको ३९२औं शृङ्खलामा प्रकटको सम्झना



पोखरा, वैशाख ५ गते । साहित्य, सङ्गीत र कलाको त्रिवेणीका रुपमा वि. सं. २०३४ सालदेखि अविच्छिन्न रुपमा सेवारत पोखराको अग्रणी वाङ्मयिक संस्था “पोखरेली युवा सांस्कृतिक परिवार”ले आँफुले नियमित रुपमा गर्दै आएको मासिक काव्य वाचन कार्यक्रम-“समता काव्य सन्ध्या ”को ३८३ औँ शृङ्खला संस्थाका पूर्वअध्यक्ष एवं प्रसिद्ध गीतकार, गजलकार तथा कवि प्रकट पगेनी शिबलाई श्रद्धाञ्जली दिंदै शनिवार पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व सुप्रसिद्ध साहित्यकार सरुभक्तले “ सिर्जनामा लाग्ने मानिसहरुमा सर्जनात्मक अहँ हुन्छ । आज यहाँ वाचन गरिएका कवितामा कविहरु ब्रह्माण्डमा मात्र सीमित नरही ब्रह्माण्डको सीमाभन्दा पर पुगेको अनुभूति व्यक्त गर्दै त्यो पनि कवि हुनुको सामर्थ्य र सिर्जनात्मक अहम्  भएको धारणा व्यक्त गर्नु भयो। पहिला पहिला ‘जहाँ न पहुँचे रवि, वहाँ पहुँचे कवि’ भनिएतापनि अहिले सूर्य धेरै पृथ्वीबाट धेरै पर नभएको र सूर्यको प्रकाश पृथ्वीसम्म आठ मिनेटमा आइ पुगे पनि सौर्यमण्डल बाहिर नपुग्ने, तर कविको कल्पना ब्रह्माण्डभन्दा पर पुग्ने”भन्दै “समता काव्य सन्ध्याले बिक्रमाब्द २०५० सालदेखि हरेक महिनाको पहिलो शनिबार निरन्तर कविताको आराधना गर्दै आइरहेको र बत्तीस वर्षदेखि विद्यार्थी केटाकेटीदेखि लिएर आफ्नो पेशाबाट अवकाश लिएका प्रौढ मानिसहरुलाई समेत साहित्यको पाठ सिक्न सक्ने मौका प्रदान गरिरहेको र यसले नेपालको साहित्यको इतिहासमा महत्वपूर्ण स्थान राख्नेछ भन्ने विश्वास लागेको” बताउँनु भयो ।
कार्यक्रममा पोखराका मानक कविहरु संस्थाका सल्लाहकार डा. ईश्वरमणि अधिकारी, डा. चैतन्य अधिकारी , शिव त्रिपाठी, दुर्गा शाह बाबा, ढाकामोहन बराल, लोचना अधिकारी, मुनाल गोदार, देवेन्द्र केसी, तेजबहादुर गुरुङ, देवेन्द्र चिनार, टीकाप्रसाद भण्डारी, एकदत्त लम्साल, मनोज गौतम, गौरव पौडेल, विष्णुप्रसाद भण्डारी, आशीष रेग्मी, रोशन ज्ञवाली, अक्षता पाण्डे लगायत कविहरुले आफ्ना सशक्त कविता वाचन गर्नुभयो ।
परिवारका अध्यक्ष रीता अधिकारी ऋतुको सभाध्यक्षमा भएको कार्यक्रममा साहित्य विभागकी संयोजक केशु शर्माले स्वागत र सचिव एमडी काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए ।