पोखरा, जेठ ६ गते । कास्कीको मादी गाउँपालिकाका दुई विद्यालयमा अध्यापनरत शिक्षकहरूका लागि पेसागत सहयोग कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
शिक्षा
विकास तथा समन्वय एकाइ, कास्कीको आयोजना र मादी गाउँपालिका, शिक्षा, युवा तथा
खेलकुद शाखाको समन्वयमा मादी-४, तारकाङस्थित ध्रुव माध्यमिक विद्यालय र मादी-३, याङ्जाकोटस्थित
सीताराम माविका शिक्षकहरूका लागि विज्ञसहितको समूहले पेसागत सहयोग गरेको हो । सो
अवसरमा नेपाली, अङ्ग्रेजी, सामाजिक, गणित र विज्ञान विषयका कक्षाअवलोकन, पृष्ठपोषण
प्रदान तथा नमुना कक्षा सञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका प्राविधिक
सहायक मनहरि आचार्यले जानकारी दिए ।
आधारभूतदेखि
माध्यमिक तहसम्मका विषयगत कक्षाहरूमा नेपाली विषयका लागि इन्दिरा सापकोटा र
रुपिन्द्र प्रभावी, अङ्ग्रेजी विषयका लागि भुवन सुवेदी र ढक पुन, गणित विषयका लागि
मनोज शर्मा र जगन्नाथ अधिकारी, सामाजिक विषयका लागि उदयराज पोखरेल र रामचन्द्र ढकाल
तथा विज्ञान विषयका लागि जीवबहादुर गुरुङ र विष्णुप्रसाद तिमिल्सिनाले विज्ञका
रूपमा भूमिका खेलेका थिए ।
सो
अवसरमा शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षकको
मनोबल उच्च बनाएर शैक्षिक उपलब्धि वृद्धि गर्नका लागि पेसागत सहयोग कार्यक्रम
सञ्चालन गरिएको बताए । शिक्षक नलागेसम्म शैक्षिक उन्नति नहुने भन्दै आचार्यले
अद्यावधिक भएर सत्कर्ममा लाग्न शिक्षकहरूसँग आग्रह गरे ।
मादी
गाउँपालिका, सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर ४ का वडाअध्यक्ष
शिवप्रसाद सापकोटाले विद्यालयको विकासका लागि जुनसुकै त्याग गर्न आफू तयार रहेको
भनाइ राखे । उनले शिक्षाको विकास भए मात्र समुदायको विकास हुने भन्दै शैक्षिक
क्षेत्रको विकासका लागि आफूले प्रयास गर्दै आएको स्मरण गरे ।
मादी
गाउँपालिका, शिक्षा शाखा प्रमुख खगेन्द्र लामिछानेले मादीको शैक्षिक सूचकले क्रमशः
प्रगतिको बाटो लिएको बताए । उनले मादीका शिक्षकहरूको पेसागत सहयोगका लागि गाउँपालिकाले
प्रशस्त अवसर प्रदान गर्दै आएको दाबीसमेत गरे ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइका अधिकृत बलराम भुगाईँ, विद्यालयका प्रधानाध्यापक रामबाबु पौडेल, विव्यसका अध्यक्ष बुद्धिसागर सापकोटा, विज्ञहरूका तर्फबाट रुपिन्द्र प्रभावी तथा सहभागी विषयगत शिक्षकहरूले यस्ता कार्यक्रमले निरन्तरता पाए शैक्षणिक क्रियाकलाप थप प्रभावकारी बन्ने विचार राखेका थिए ।
