ताजा

6/recent/ticker-posts

पोखरामा हरित विद्यालयसम्बन्धी गण्डकी प्रदेशस्तरीय तालिम सम्पन्न

 


पोखरा, साउन ४ गते । प्रधानाध्यापकहरूको पेसागत क्षमता अभिवृद्धि तथा विद्यालयमा दिगो विकास र वातावरणीय शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले Principal Association of Nepal–PAN को समन्वयमा युनेस्को (UNESCO) र काठमाडौं विश्वविद्यालयको सहकार्यमा पोखरामा हरित विद्यालय (Green School) सम्बन्धी चारदिने प्रादेशिक तालिम सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका विभिन्न विद्यालयबाट १५ जना प्रधानाध्यापक र १५ जना हरित विद्यालय फोकल शिक्षक गरी ३० जना सहभागी रहेको उक्त तालिममा विद्यालयलाई वातावरणमैत्री, दिगो र जलवायु–उत्तरदायी बनाउने अवधारणा, नीति, कार्यढाँचा तथा व्यावहारिक पक्षबारे विस्तृत छलफल गरिएको थियो । तालिममा युनेस्कोद्वारा प्रकाशित “Greening Curriculum: Teaching and Learning for Climate Action” लगायत नेपाल सरकार तथा युनेस्कोका सम्बन्धित मार्गदर्शक दस्तावेजहरूको अध्ययन र प्रयोगका विषयमा अभिमुखीकरण गरिएको थियो ।

कार्यक्रममा जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, पारिस्थितिकीय प्रणाली, जलवायु न्याय, विपद् तथा उत्थानशीलता (Resilience), दिगो जीवनशैली, परिपत्र अर्थतन्त्र (Circular Economy) जस्ता विषयलाई विद्यालय शिक्षासँग कसरी एकीकृत गर्ने भन्ने विषयमा गहन छलफल भएको थियो । साथै, विभिन्न विषयका पाठ्यवस्तुसँग हरित विद्यालयको अवधारणालाई अन्तरसम्बन्धित गर्दै विद्यार्थीकेन्द्रित, परियोजनामा आधारित तथा व्यवहारमुखी सिकाइलाई प्रवर्धन गर्ने उपायहरू प्रस्तुत गरिएका थिए ।

तालिममा हरित विद्यालयसम्बन्धी पाठयोजना (Lesson Plan) निर्माणसम्बन्धी छलफलसमेत भएको थियो । सहभागीहरूले विभिन्न विषयमा वातावरणीय तथा दिगोपनका अवधारणालाई समेटेर अन्तरविषयगत पाठयोजना तयार गर्ने अभ्यास गरेका थिए । त्यसपछि कास्कीको भद्रकाली माध्यमिक विद्यालय, कुँडहरमा पुगेर ती पाठयोजनाका आधारमा प्रदर्शन कक्षा सञ्चालन गरिएको थियो । प्रदर्शन कक्षाको काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरू तथा युनेस्कोका प्रतिनिधिहरूले अवलोकन गरी सहभागीहरूलाई रचनात्मक सुझाव र पृष्ठपोषण (Feedback) प्रदान गरेका थिए । तालिममा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा सङ्काय सदस्यहरू, युनेस्कोका प्रतिनिधिहरू तथा Principal Association Nepal नेपालका पदाधिकारीहरूले सहजीकरण गरेका थिए ।

कार्यक्रममा PAN का केन्द्रीय  अध्यक्ष सुदाम गौतमले विद्यालय नेतृत्वले हरित, दिगो र जलवायुमैत्री विद्यालय निर्माणमा निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रकाश पारेका थिए । गण्डकी प्रदेशबाट सुरु भएको कार्यक्रमलाई ७ ओटै प्रदेशका १०० भन्दा धेरै स्कुलका प्रधानाध्यापक र फोकल शिक्षकलाई तालिम दिने र बर्सेनि यो सङ्ख्या वृद्धि गर्दै लैजाने योजना रहेको जानकारी गौतमले जानकारी दिए ।

 

त्यसैगरी शिक्षा विकास तथा समन्वय एकाइ, कास्कीका प्रमुख लोकनाथ आचार्यले सहभागी शिक्षकहरूलाई शुभकामना व्यक्त गर्दै तालिमबाट प्राप्त ज्ञान र सिपलाई विद्यालयमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

तालिमको समापनसँगै सहभागीहरूलाई आफ्ना विद्यालयमा हरित विद्यालय अवधारणाको कार्यान्वयनसम्बन्धी विद्यालय–आधारित कार्य (School-based Project) सञ्चालन गर्ने जिम्मेवारी दिइएको छ । तोकिएका कार्यहरू सफलतापूर्वक सम्पन्न गरी प्रतिवेदन पेस गरेपछि सहभागीहरूलाई काठमाडौँ विश्वविद्यालयबाट शैक्षिक क्रेडिट (Academic Credit) प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार यस तालिमले विद्यालय नेतृत्व र शिक्षकहरूलाई हरित विद्यालयको अवधारणालाई विद्यालय व्यवस्थापन, शिक्षण–सिकाइ प्रक्रिया, सहपाठ्यक्रियाकलाप तथा समुदायसँगको सहकार्यमा प्रभावकारी रूपमा समावेश गर्न आवश्यक ज्ञान, सिप र व्यावहारिक अनुभव प्रदान गरेको छ । यसबाट नेपालका विद्यालयहरूलाई दिगो विकासका लक्ष्यअनुरूप वातावरणमैत्री र जलवायुमैत्री शिक्षण संस्थाका रूपमा विकास गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको तालिममा सहभागी माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्यले जानकारी दिए ।