पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा

 


पोखरा, साउन १३ गते । पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार सरस्वती प्रतीक्षा नियुक्त भएकी छन् ।

पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षका रूपमा सफल कार्यकाल पूरा गरी कुशल नेतृत्वकर्ताको पहिचान बनाइसकेकी प्रतीक्षाका ‘नथिया’ र ‘स्व’ गरी दुई उपन्यास चर्चित छन् । उनका ‘यद्यपि प्रश्नहरू’, ‘विम्बहरूको कठघरा’ र ‘बागी सारङ्गी’ गरी तीन कविता सङ्ग्रह प्रकाशित छन् ।

पोखरा महानगरपालिकाद्वारा गठित प्रतिष्ठानको दोस्रो कार्यकालका लागि बुधवार आयोजित एक कार्यक्रमका बिच नगर प्रमुख धनराज आचार्यले कुलपति प्रतीक्षासँगै उपकुलपति तिलक पुर्जा पुन मगर,  सदस्य सचिव जीवन दाहाललगायत सम्पूर्ण प्राज्ञ परिषद् सदस्य तथा प्राज्ञ सभाका सदस्यहरूलाई जिम्मेवारीसहित नियुक्तिपत्र प्रदान गरेका हुन् ।

प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्यमा श्रीजङ गुरुङ (नृत्य), हरेराम जोजेजू (फाइन आर्ट/ललितकला), दिलीप गायक (सङ्गीत तथा वाद्यवादन) र प्रमिला ताम्राकार तुलाचन (रङ्गमञ्च तथा अभिनय) रहेका छन् । यस्तै प्राज्ञ सभा सदस्यमा कल्पना चिलुवाल (साहित्य), कृष्णप्रसाद गौतम (संस्कृति), गमबहादुर परियार ‘गम्भीर बर्देवा’ (नृत्य निर्देशन तथा कलाकार), ज्योति गुरुङ (फाइन आर्टल/ललितकला), नवराज अधिकारी (लेखनाथ साहित्य प्रतिष्ठान), प्रेमराज अधिकारी (लोकगीत तथा सङ्गीत, गीतकार), भाष्करध्वज श्रेष्ठ (सङ्गीत तथा ब्याण्ड), रवीन्द्र माकाजु (साहित्य तथा इतिहास), रीता पाहारी (साहित्य तथा कला), शिवहरि ढुङ्गाना (लोक तथा दोहोरी गीत/सङ्गीत) रहेका छन् ।

सो अवसरमा नगर प्रमुख आचार्यले प्रतिष्ठानका गतिविधिहरूमार्फत पोखरा महानगरपालिका क्षेत्रको साहित्य, कला, संस्कृति, भाषालगायत समग्र प्राज्ञिक क्षेत्रको उन्नयन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रतिष्ठानका गतिविधिहरूलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यले संस्थागत रूपमा पोखरा घरमा व्यवस्थित कार्यालय र कार्य सञ्चालनका लागि कानुनी रूपमा पर्याप्त व्यवस्था र बजेटको समेत प्रबन्ध गरिएको आचार्यको भनाइ छ ।

छनोट समितिकी संयोजक तथा नगर उपप्रमुख मन्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले नगर क्षेत्रको साहित्य, कला, भाषा र संस्कृतिको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन् । महानगरपालिकाले यसका गतिविधिहरूलाई चलायमान बनाउनका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्ने गुरुङले बनाइन् ।

नवनियुक्त कुलपति प्रतीक्षाले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारी निष्ठापूर्वक बहन गर्ने प्रतिबद्धता जाहेर गरिन् । पोखरेली प्राज्ञिक क्षेत्रको विकास र श्रीवृद्धिमा आफूहरू समर्पित भएर लाग्ने उल्लेख गर्दै उनले पोखरा प्रज्ञा प्रतिष्ठानलाई नमुना प्रतिष्ठानका रूपमा स्थापित गर्ने विश्वास दिलाइन् ।

पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (दोस्रो संशोधन, २०८२) अनुसार कुलपतिलगायतका पदाधिकारीहरू नियुक्त तथा मनोनयन गरेको हो । उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा तीर्थ श्रेष्ठ र ज्ञानबहादुर थापा सदस्य रहेको सिफारिस समितिको सिफारिसबमोजिम प्राज्ञहरूको छनोट गरिएको महानगर स्रोतले बताएको छ ।