पोखरा महानगरलाई पोखराका प्रधानाध्यापकको जबाफः आन्दोलन र माग पूरा नभई विद्यालय खोलिँदैन (विज्ञप्तिसहित)



पोखरा । पोखरा महानगरपालिकाले पूर्ववत् रूपमा विद्यालय खोल्ने निर्देशन दिएलगत्तै पोखरा महानगरपालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले आन्दोलन र माग पूरा नभएसम्मका लागि विद्यालय बन्द कार्यक्रम कायम रहने जबाफ दिएका छन् ।

आज एक संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले अर्को सूचना नभएसम्मका लागि विद्यालय बन्द रहने जनाएका छन् । आजै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले एक विज्ञप्तिमार्फत पूर्ववत् रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएका थिए । मेयर आचार्यले विज्ञप्ति जारी गर्नुपूर्व नै प्रधानाध्यापकहरूले आन्दोलनको समर्थन गर्ने निर्णय गरे पनि स्थानीय सरकारको कदम हेरी अघि बढ्ने सहमति भएको विश्वस्त स्रोतले जनाएको छ ।

हेरौँ विज्ञप्तिको पूर्ण पाठ :

सङ्घीय संसद् सचिवालय, संस भवन सिंहदरबार, काठमाडौंमा दर्ता गरिएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० सम्बन्धमा असहमति राख्दै नेपाल शिक्षक महासङ्घले गरेको "काठमाडौं केन्द्रित आन्दोलन र माग पूरा नभएसम्मको लागि विद्यालय बन्द कार्यक्रम" लाई पूर्ण समर्थन गर्दै पोखरा महानगरपालिकाभित्रका तपसिलमा हस्ताक्षर भएका प्रधानाध्यापकहरूको मिति : २०८० आश्विन ४ गते बिहान ८:०० बजे राष्ट्रिय माध्यमिक विद्यालय, पोखरा-१ , पुरानो टुँडिखेलमा बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि विद्यालयहरुको पठन पाठन बन्द गर्ने निर्णय गरिएको छ । यस अवधिमा विद्यार्थीलाई पुग्ने शैक्षिक क्षतिप्रति अत्यन्त संवेदनशील हुँदै उक्त क्षतिलाई आगामी दिनमा विद्यालयले निर्धारण गरेका बिदाका दिनहरू कटौति गरी पूरा गराउने सामूहिक/सार्वजनिक प्रतिबद्धतासहित यस पेसागत अधिकार प्राप्तिको महान् अभियानमा सहयोग गर्न समस्त शैक्षिक सरोकारवालाहरू क्रमश: शिक्षकहरू, कर्मचारीहरू, विद्यार्थीहरू, पत्रकारहरू, अभिभावकहरू, शिक्षाविद्हरूलगायत सम्पूर्ण आम जनसमुदायलाई हार्दिक अपिल गर्दछौं ।




Post a Comment

Previous Post Next Post