Top News

काठेखोला गाउँपालिकाका शिक्षकलाई एआईको तालिम

 


बागलुङ, जेठ ३१ गते । बागलुङको काठेखोला गाउँपालिकाका शिक्षकहरूका लागि शिक्षणमा मोबाइल एप र एआईको प्रयोगसम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।

तालिमको उद्‍घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजु थापाले अबको युगमा शिक्षक प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । प्रविधिसँगै जन्मेका विद्यार्थीलाई सिकाउनुपर्ने शिक्षकहरू सिपयुक्त जनशक्तिका रूपमा विकास हुनुपर्ने भन्दै थापाले शिक्षकले नै नजाने विद्यार्थीलाई सिकाउने कुरामा दक्षता हासिल गर्न नसक्ने बताए । उनले गाउँपालिकाले शिक्षकको क्षमता विकासका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । थापाले आगामी आर्थिक वर्षमा शिक्षकहरूलाई गाउँपालिका बोलाएर तालिम दिने मात्र होइन, प्रत्येक विद्यालयमा तालिम पुर्‍याउने गरी कार्ययोजना निर्माण गरिने जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल, शिक्षा अधिकृत रमा उच्चै, प्राविधिक सहायक मनुदेवी शर्मालगायतले तालिमले शिक्षकहरूमा नवप्रवर्तनात्मक सिप हासिल हुने विश्वास व्यक्त गरे ।

२ समूहमा गाउँपालिकाभित्रका ६८ जना शिक्षकहरूको सहभागिता रहेको तालिममा २ दिनसम्म शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशका रोस्टर प्रशिक्षकहरू रुपिन्द्र प्रभावी जोशी र खेमराज पौडेलले सहजीकरण गरेका थिए ।

 

Post a Comment

Previous Post Next Post