समता काव्य सन्ध्यामा असार विशेष रचना वाचन

 


पोखरा, जेठ ६ गते । पोखरेली युवा सांस्कृतिक परिवारको नियमित मासिक समता काव्य सन्ध्याको ३९५ औँ शृङ्खला शनिवार पोखरामा सम्पन्न भएको छ ।

साहित्य, सङ्गीत र कलाको त्रिवेणीका रूपमा वि. सं. २०३४ सालदेखि क्रियाशील पोखराको अग्रणी वाङ्मयिक संस्था “पोखरेली युवा सांस्कृतिक परिवार”ले हरेक महिनाको पहिलो शनिवार सञ्चालन गर्दै आएको  कार्यक्रमको सो शृङ्खला असार महिना विशेषका रूपमा सञ्चालन गरेको छ ।

कार्यक्रममा विम्बकवि रमेश श्रेष्ठले आफूलाई असार महिना नै कविता जस्तो लाग्ने धारणा राखे । उनले असार सिर्जनाको महिना भएको भन्दै माटालाई माया गर्ने मानिस सिर्जनाभन्दा पनि महान् हुने बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार दीपक समीप र प्रकाश ज्ञवाली तथा साहित्यकारहरू अल्पविराम पोखरेली, भीम रानाभाट, शिव त्रिपाठी, नवराज न्यौपाने, केशु शर्मा, लक्ष्मण गौतम ‘हिमाली’, रती भट्टराई, ढाकामोहन बराल, अम्बिकाप्रसाद भट्टराई, विमला अधिकारी, जमुना कायस्थ, समीप वैरागी, एकदत्त लम्साल, निकेश गिरी, शान्ति कँडेललगायतले असारलाई समर्पित गर्दै आफ्ना कविता वाचन गरेका थिए ।

परिवारका उपाध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य विभागकी संयोजक केशु शर्माले स्वागत र  सचिव एमडी काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए ।