लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिकामा निःशुल्क मुटु परीक्षण तथा उपचार शिविर हुने भएको छ ।
मध्यनेपाल-३, सूर्यपालस्थित
मङ्गला माध्यमिक विद्यालयको प्राङ्गणमा चैत १४ गते हुने शिविरमा सहिद गङ्गालाल राष्ट्रिय
हृदय केन्द्रको प्राविधिक सहयोगमा हुने भएको हो ।
नागभैरव
बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजना तथा मध्यनेपाल नगरपालिकाको सहकार्यमा हुने
उक्त शिविर बिहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने आयोजक संस्थाका दुवराज सोतीले
जानकारी दिए । शिविरको मुख्य उद्देश्य मुटुरोगीहरूको पहिचान गरी बिरामीलाई आवश्यक सहुलियत
प्रदान गर्ने र निःशुल्क रूपमा काठमाडौंस्थित गङ्गालाल हृदय केन्द्रमा उपचारको
व्यवस्था मिलाउनु रहेको सोतीले बताए ।
शिविरमा
मुटुरोग विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण, निःशुल्क
इसीजी सेवा, मुटुको भिडियो एक्सरे (इको) तथा निःशुल्क सुगर
परीक्षण सेवा उपलब्ध गराइने छ । साथै गङ्गालाल केन्द्रबाट उपलब्ध हुने निःशुल्क
तथा सशुल्क सेवाबारे जानकारी पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
इसीजी र इको सेवा
चिकित्सकको सिफारिसका आधारमा मात्र गरिने छ भने मुटुरोगीहरूले जाँचका लागि आउँदा
आफ्ना पुराना रिपोर्टहरू साथमा ल्याउन अनुरोध गरिएको छ । यसै गरी, स्वास्थ्यकर्मी तथा स्वयम् सेवकहरूका लागि विशेष ‘बेसिक लाइफ सपोर्ट’
तालिम पनि सञ्चालन गरिने कार्यक्रम रहेको छ ।
शिविर
सफल पार्न मङ्गला मावि सोतीपसल, वडा नम्बर ३ को कार्यालय
तथा सूर्यपाल स्वास्थ्य चौकीले विशेष सहयोग गर्ने जनाइएको छ ।
