सरकार र शिक्षकबिच ६ बुँदे सहमति, के के भए सहमति ?



पोखरा । आन्दोलनरत शिक्षक र सरकारबिच ६ बुँदै सहमति भएको छ । विद्यालय बन्द गरेर असोज ३ गतेदेखि नेपाल शिक्षक महासङ्घको अगुवाइमा जारी आन्दोलनसमेत सहमतिपछि अन्त्य हुने सातौँ बुँदामा उल्लेख छ । उक्त बुँदाअनुसार अब बन्द रहेका सबै विद्यालयहरू खुल्ने छन् ।

 हेर्नुहोस् सहमतिको मस्यौदाको पूर्णपाठ :

सङ्‍घीय संसद् सचिवालयमा दर्ता गरिएको विद्यालयसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा नेपाल शिक्षक महासङ्‍घले प्रेस विज्ञप्तिमार्फत अघि सारेका अठार बुँदे मागका सम्बन्धमा आवश्यक वार्ताको लागि माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा नेपाल सरकारले वार्ता गर्न आह्वान गरेबमोजिम नेपाल सरकार र नेपाल शिक्षक महासङ्‍घ, शिक्षक तथा कर्मचारीको पेशागत हकहितप्रति आवद्ध पेसागत संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा नेपाल सरकारका तर्फबाट र नेपाल शिक्षक महासङ्‍घका तर्फबाट हस्ताक्षर गरियो ।

१. नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकको मर्यादाक्रम कायम गर्ने ।

२. ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मा भएका देहायका व्यवस्थामा संसद्‌को सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली, अभ्यास र सङ्‍घीय संसद् सञ्चालनसम्बन्धी मौजुदा विधिबमोजिम प्रक्रिया अगाडि बढाउन सहजीकरण गर्ने :

(क) शिक्षकको दश दश वर्षमा आवधिक बढुवा हुने व्यवस्था गर्ने

(ख) माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुनको लागि न्यूनतम पाँच वर्ष सेवा कायम गर्ने

(ग) प्रजातान्त्रिक एवम् पेसागत आन्दोलन तथा द्वन्द प्रभावित शिक्षक तथा कर्मचारीको विस्थापित भएको मितिबाट पुनर्वहालीसम्म वा निवृत्त भएको वा सेवाबाट राजीनामा दिएको अवधिसम्म टुटेको सेवा अवधि निवृत्तभरण वा उपदान वा अन्य सुविधा प्रयोजनको लागि गणना गर्ने

(घ) शिक्षक तथा कर्मचारीसम्बन्धी विभागीय कारवाही र सजायसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने

(ङ) विगतमा निम्नमाध्यमिक द्वितीय तथा प्राथमिक द्वितीय श्रेणी पदमा खुला प्रतिस्पर्धाबाट नियुक्त भएका शिक्षकको पद समायोजन गर्ने

(च) सम्बन्धित स्थानीय तहभित्र शिक्षक तथा प्रधानाध्यापकको सरुवा गर्दा विद्यालय व्यवस्थापन समितिको सहमतिमा गर्ने

(छ) शिक्षकले शिक्षा नियमावली, २०५९ बमोजिम पाइरहेको उपचार खर्चको व्यवस्थालाई समावेश गर्ने

(ज) योगदानमा आधारित निवृत्तभरण प्रारम्भ हुने मिति निजामती कर्मचारीलाई भएसरह व्यवस्था गर्ने

(झ) शिक्षकको निवृत्तभरण प्रयोजनको लागि अपुग हुने अवधि निजको अस्थायी सेवा अवधिबाट गणना गर्ने

(ञ) शिक्षकको सेवा प्रवेशको अधिकतम अवधि चालिस वर्ष कायम गर्ने

(ट) साविक उच्च माध्यमिक विद्यालयमा स्वीकृत दरबन्दी र अनुदान कोटामा कार्यरत शिक्षक, राहत शिक्षक, विशेष शिक्षक, छुट अस्थायी करार, प्राविधिक धार र शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकको लागि आन्तरिकतर्फ पचहत्तर प्रतिशत कायम गर्ने

३. शिक्षासम्बन्धी विज्ञ तथा नेपाल शिक्षक महासङ्‍घ र अन्य राजाको सहभागितामा नियमावली तर्जुमा गर्ने र नियमावलीमा देहायका विषय समावेश गर्ने:

(क) कार्यसम्पादन मूल्याङ्कन गर्दा शिक्षकको हकमा प्रधानाध्यापकको संयोजकत्वमा र प्रधानाध्यापकको हकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय समितिको व्यवस्था गर्ने

(ख) पेसागत हकहितलगायतका नेपाल शिक्षक महासङ्‍घ सम्बन्धी अन्य विषय

(ग) सार्वजनिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा अभिभावकको बाहुल्य हुने गरी सङ्ख्या निर्धारण गरी संरचना तोक्ने विषय

(घ) विद्यालय शिक्षक तथा कर्मचारीले पाउने दुर्गम भत्ता, महङ्गी भत्ता तथा ग्रेड वृद्धि तथा समायोजनलगायतका सुविधासम्बन्धी विषय

(ङ) सार्वजनिक विद्यालयका शिक्षक कर्मचारीको सञ्चित बिदा र सोबापतको रकमसम्बन्धी विषय

(च) शिक्षक तथा विद्यालय कर्मचारीको तहगत प्रणाली र तहमा समायोजनसम्बन्धी विषय

(छ) शिक्षक अनुमतिपत्रसम्बन्धी व्यवस्था र साविक उच्च माध्यमिक विद्यालययमा नियुक्त पाएका शिक्षकको छुट अनुमतिपत्रसम्बन्धी विषय

(ज) आंशिक शिक्षकसम्बन्धी विषय

(झ) शिक्षक अभिभावक सङ्घसम्बन्धी विषय

(ञ) शिक्षक सेवा आयोगको परीक्षामा विद्यालय शिक्षकले आन्तरिक प्रतिस्पर्धा गर्नेसम्बन्धी व्यवस्था

(ट) यसअघि नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्‍घबिच मिति २०७८ ।११।९ मा भएको समझदारीलाई प्रत्यायोजित विधायनको व्यवस्थाबमोजिम प्रारम्भिक बालविकाससम्बन्धी व्यवस्था गर्ने विषय र सेवाबाट अवकाश हुँदा प्राप्त गर्ने सुविधासम्बन्धी विषय

४. राष्ट्रिय मापदण्डमा समावेश गर्ने विषय:

(क) विद्यालय कर्मचारीको दरबन्दीको विषय

ख) सार्वजनिक विद्यालयमा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आबद्धतालगायतका सुविधाको विषय

(ग) संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको नियुक्ति पत्र प्रदान गर्ने विषय, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषमा आबद्धतालगायतका सुविधा र सरकारी निकायमा अभिलेख व्यवस्थापनको विषय

(घ) विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको तालिम तथा क्षमता अभिवृद्धिसम्बन्धी विषय

(च) विगतमा विद्यालय व्यवस्थापन समितिबाट नियुक्त विद्यालय कर्मचारीका सम्बन्धमा विशेष सुविधा तथा विद्यालय कर्मचारीको छनोट, सेवा सुविधा र सर्त सम्बन्धमा एकरूपता कायम गर्न नमुना कानुन तर्जुमासम्बन्धी विषय ।

(च) शिक्षकको दरबन्दी मिलान तथा पद मिलानसम्बन्धी व्यवस्था स्थानीय आवश्यकता, विषयगत व्यवस्था, विद्यार्थी सङ्ख्या र विद्यार्थीको पहुँचलाई आधार बनाउने विषय

(छ) संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीका विषयमा संयन्त्र बनाउने र संयन्त्रमा शिक्षक तथा कर्मचारीको पेसागत संस्थाको प्रतिनिधित्व हुने विषय

५. विद्यालय शान्तिक्षेत्र भन्ने मान्यताका साथ सबै किसिमका विद्यालयका काम कारबाही आवश्यक सेवा सञ्चालनसम्बन्धी सङ्‍घीय कानुनको परिधिभित्र पारी पठन पाठन सञ्चालन हुने व्यवस्था गर्ने र शिक्षकलाई आवश्यक सुरक्षाको प्रत्याभुति प्रदान गर्ने

६. नेपाल शिक्षक महासङ्‍घद्वारा आह्वान गरिएको काठमाडौँकेन्द्रित सबै किसिमका कार्यक्रमहरू आजको मितिबाट अन्त्य गर्ने र सार्वजनिक लगायत सबै किसिमका विद्यालयमा अध्ययन अध्यापनलाई नियमित गरी पठन पाठन सञ्चालन गर्ने

सम्झौता मितिः २०८०/०६/०५

 






Post a Comment

Previous Post Next Post