महिला लघुवित्तद्वारा सातै प्रदेशका विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन - EDUCATION NEWS NEPAL

अपडेट

Thursday, March 19, 2026

महिला लघुवित्तद्वारा सातै प्रदेशका विद्यालयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन

 


काठमाडौँ, चैत ६ गते । ग्लोबल मनी विक २०२६ को अवसरमा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सातओटै प्रदेशका माध्यामिक विद्यालयहरूमा वित्तीय साक्षरता कार्यक्रम  सम्पन्न गरेको छ ।

सुदुरपश्चिम प्रदेश कार्यालयबाट श्रीकृष्ण माध्यमिक विद्यालय,  गुलरिया, कञ्चनपुरमा, कर्णाली प्रदेश कार्यालयबाट जन नमुना मा.वि., वीरेन्द्रनगर, सुर्खेतमा, लुम्बिनी प्रदेश कार्यालयबाट जनकल्याण मा.वि,. तुलसीपुर, दाङमा, गण्डकी प्रदेश कार्यालयबाट ईशानेश्वर मा.वि., मध्यनेपाल, लमजुङमा, बागमती प्रदेश कार्यालयबाट पद्‍मोदय मा.वि., भृकुटिमण्डप काठमाडौँमा, मधेश प्रदेश कार्यालयबाट लक्ष्मु मा. वि., जलेश्वर, महोत्तरी र कोशी प्रदेश कार्यालयबाट शारदा मा. वि., धनपालथान कर्सिया, मोरङमा एकै दिन एकैसाथ कार्यक्रम सम्पन्न भएको हो । बागमती प्रदेशमा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेले युवाहरूले प्रविधियुक्त बैङ्किङ प्रणालीको प्रयोगलाई स्तर उन्नति गर्दै आफ्नो समुदायमा बैङ्किङ प्रणाली पहुँचलाई प्रभावकारी रूपमा प्रयोग गर्न अहम भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले त्यस्तो कार्य युवाहरुबाट नै सम्भव हुने धारणा राखे । उक्त कार्यक्रमहरूमा सम्पूर्ण  विद्यालयहरुलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरिएको थियो ।

ग्लोबल मनी विक २०२६ को ‘स्मार्ट मनि टक्स’ भन्ने नारालाई आत्मसात गर्दै सञ्चालन गरिएको वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सातै प्रदेश कार्यालयका प्रदेश प्रमुख र कर्मचारीहरूले कर्जाको सदुपयोग, बचतको महत्त्व, आम्दानी खर्चको बजेट निर्माण, डिजिटल बैङ्किङको प्रयोग, शेयर कारोबारसम्बन्धी जानकारीलगायतका वित्तीय विषयहरुमा सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा सातै प्रदेशमा विद्यालयहरूबाट करिव ५१५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

विश्वभर मनाइने ग्लोबल मनी विक (Global Money week 2026 ) कार्यक्रमलाई नेपालमा नेपाल राष्ट्र बैङ्कको समन्वय तथा आह्वानमा सन् २०१२ देखि हरेक वर्ष मार्च महिनामा वित्तीय संस्थाहरुले मनाउँदै आएका छन् । युवाहरूमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउनुका साथै युवाहरूमा वित्तीय ज्ञान र सिपलाई व्यावहारिक रूपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गरी आर्थिक सम्वृद्धिमा सघाउ पुर्‍याउने कार्यक्रमको उद्देश्य रहेको छ ।