पोखरा,
वैशाख १९ गते । गीतकार प्रतिष्ठान, नेपालले शनिवार पोखरामा
‘चिया संसारमा गीत गजल कार्यक्रम’ सम्पन्न गरेको छ ।
पोखराको रत्नचोकस्थित
चिया संसारसँग सहकार्य गरी आयोजना गरिएको कार्यक्रममा प्रतिष्ठानका ७ जनाले गीत र
गजल प्रस्तुत गरेका थिए । चिया संसारले आफ्नो पहिलो वार्षिकोत्सव तथा बृहत्
उद्घाटनका अवसरमा विविध सांस्कृतिक तथा साहित्यक कार्यक्रमहरूसमेत आयोजना गर्दै
आएको सञ्चालक किस्मतजङ कार्कीले जानकारी दिए ।
कार्यक्रममा गीतकार
प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले चिया संसारले व्यावसायिक कार्यका अलावा
साहित्यलाई दिएको महत्त्व प्रशंसनीय रहेको बताए । उनले गीतकार प्रतिष्ठान विभिन्न
संस्थाहरूसँग सहकार्य गरेर गीत/सङ्गीतको उत्थानमा लागिरहेको जानकारी दिए । उनले नानीको
चञ्चले बानीले बिगार्यो..., लभ गरे पनि टेन्सन..., मलाई रुच्दैन तिम्रो बारेमा...लगायतका
आफ्ना चर्चित गीत/गजलहरू सुनाएका थिए ।
प्रतिष्ठानका संस्थापक
अध्यक्ष हरिहर खनियाले प्रतिष्ठानलाई जनसमक्ष परिचित गराउन यस्ता कार्यक्रमले
भूमिका खेल्ने भन्दै चिया संसारप्रति धन्यवाद ज्ञापन गरे । उनले सबको पिरतीमा
घरबार हुन्छ..., मैले बाआमा त्यागेर... लगायत आफ्ना चर्चित गीत/गजल सुनाएका थिए ।
कार्यक्रममा
प्रतिष्ठानका उपाध्यक्ष लाल कार्की ‘अञ्जान’, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष
आदर्श पोखरेल, सदस्य सुरज उपाध्याय र जमुना बरालले आफ्ना गीत र गजल वाचन गरेका थिए
।
सो अवसरमा चिया संसारका
सञ्चालक किस्मतजङ कार्कीले गीतकार/गजलकारहरूलाई धन्यवाद ज्ञापन गर्दै चियासँग
साहित्यको निकट सम्बन्ध हुने भएकाले साहित्यिक कार्यक्रमलाई स्थान दिइएको स्पष्ट
पारे । २०८२ वैशाखदेखि अनौपचारिक रूपमा सुरु भएको चिया संसार किस्मतजङ कार्की, हिक्मतजङ
कार्की, सन्दीप शर्मा पौडेल, सागर खत्री र सागर कार्कीले संयुक्त रूपमा सञ्चालन
गर्दै आएका छन् ।
