अष्ट्रेलियामा विद्यार्थीको समस्या, समस्या के हो ? कसरी सुरु भयो ? के गर्दैछ मन्त्रालयले ?

प्रकाशित मिति :2019-02-27 05:08:54

काठमाडौं/ १५ फागुन
अष्ट्रेलियास्थित Australia Institute of Business Technology (AIBT) मा अध्ययरनत विद्यार्थीको समस्यलाई लिएर शिक्षा मन्त्रालयले सक्रियता बढाएको छ । छानबिनका लागि गठित ४ सदस्यीय समितिले गठन भएलगत्तै काम सुरु मात्रै गरेको छैन, तीव्रता समेत दिएको छ ।
समितिमा उच्चशिक्षा शाखाकी सहसचिव देवकुमारी गुरागाँइको संयोजकत्वमा उपसचिवहरु देवीप्रसाद उपाध्याय, कृष्ण पोखरेल, शंकर घिमिरे सदस्य छन् ।
समितिले गत शुक्रबार दिउँसो नाम सुनिएका केही कन्सलटेन्सीका नाममा मात्रै पत्र काटी विद्यार्थीको विवरण पेश गर्नका लागि निर्देशन दिएको थियो । जस अनुसार गत आइतबार ३ बजे मन्त्रालयमा सम्पूर्ण विवरण सहित पेश गर्नका लागि निर्देशन दिएको थियो ।
विभिन्न माध्यमबाट बाहिर प्रकाशनमा आएको तथ्यांकलाई आधार मान्ने हो भने उक्त कलेजमा नर्सिङ अध्ययन गरिरहेका विद्यार्थीको ८ सयको हारहारीमा छ । तर, बाहिर नाम आएका १० वटा कन्सलटेन्सीबाट नर्सिङ अध्ययन गर्न उक्त कलेजमा जाने विद्यार्थीको संख्या ८० पनि नपुग्ने देखेपछि समितिको अध्ययनले नयाँ मोड लियो । फलस्वरुप बाँकी तथ्यांक संकलनका लागि सोमबार शिक्षा मन्त्रालयमा दर्ता सबै कन्सलटेन्सीका नाममा पत्र काट्न बाध्य भयो । साथै एआईबीटी कलेजमा समेत पत्र काटी तथ्यांक दिन भन्यो ।
कति वटा छन कन्सलटेन्सी ?
अहिले बाहिर आए जस्तो १० वटा मात्रै कन्सलटेन्सीहरु यसमा छैनन् । एक आँकडा अनुसार ९० वटा भन्दा बढी कन्सलटेन्सीले एआईबीटी कलेजमा विद्यार्थी पठाइरहेका छन् । तर सबैको नाम बाहिर आएको छैन् । कुन कन्सलटेन्सीले कति विद्यार्थी उक्त कलेजमा पठाएका छन त्यो कलेजको प्रशासन बाहेक कर्मचारीलाई समेत थाहा हुँदैन । त्यसैले हचुवाका भरमा सबैभन्दा बढी पठाउने यिनै कन्सलटेन्सी हुन है भन्ने आधारमा १० वटा कन्सलटेन्सीको नाम छानेर बाहिर ल्याएको जस्तो देखिन्छ ।

समस्या कसरी उत्पन्न भयो ?
शैक्षिक परामर्श क्षेत्रमा एक दशकयता सक्रिय एक परामर्श दाता यस घटना क्रमलाई नजिकबाट नियाली रहेका छन्, उनी भन्छन, यो समस्या आफै सिर्जना भएको समस्या होइन, सिर्जना गराइएको हो । त्यो पनि नियोजित रुपमा । एआईबीटी जस्तै एनम्याक मान्यता नपाउने अरु कलेजहरु पनि छन् । जसले विद्यार्थी भर्ना गरी अध्यापन गराइरहेका छन, र मान्यताको पर्खाइमा छन् । यसको गतिलो उदारहण हो, अष्ट्रेलियन हार्वर इन्टरनेशनल कलेज । यस कलेजले पनि सुरुमा बिना अनुमति नै कलेजमा विद्यार्थी पढाइरहेको थियो । यो समस्या उत्पन्न भएपछि मात्रै गत २१ फेब्रुअरी २०१९ मा कलेजले मान्यता पाएको थियो । तर यस कलेजको समस्या बाहिर आएको थिएन ।
त्यस्तै, फागुन ११ गते शनिबार न्यूज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा प्रस्तोता रवी लामिछानेसँग बोल्दै अर्को कलेजकी विद्यार्थी बिजिता थापाले पनि सिड्नीस्थित अष्ट्रेलियन हेल्थ एन्ड म्यानेजमेन्ट इन्स्टिच्युट कलेजले पनि अहिलेसम्म मान्यता प्राप्त नगरेको भन्दै गुनासो पोखिन । उक्त कलेजमा ५ सय विद्यार्थीले हाल अध्ययन गरिरहेकाले एआईबीटीमा उत्पन्न समस्या जस्तै आफ्नो पनि भएको बिचार व्यक्त गरिन् ।
एआईटीबीको जस्तो समस्या अन्य कलेजमा हुँदा पनि अन्य कलेजको नाम नआएर एआईबीटी कलेजको मात्रै समस्याका रुपमा केही कन्सलटेन्सीको नाम आउनु स्वभाविक मान्न नसकिने जानकारहरु बताउँछन् ।
यस कारण यो समस्या आफै समय, कानुन अनुसार उत्पन्न समस्या भन्दा पनि केही निहित स्वार्थ भएका मानिसहरुको चाहनामा उठाइएको हो भन्नेहरुको संख्या बाक्लो छ । जसमा एक महिना अगाडिदेखि नै यसको चलखेल नेपाल र अष्ट्रेलियामा सुरु भएको उनीहरुको बुझाइ छ । र नियोजित रुपमा केही कन्सलटेन्सीको नाम अगाडि ल्याइएको हो भन्ने शैक्षिक परामर्श दातृको बुझाइ छ ।

विद्यार्थीहरु प्रयोग भए त ?
यसमा सबैभन्दा बढी विद्यार्थी सद्रिशा खरेल प्रयोग भएको देखिएको छ । जसले नियोजित रुपमा कन्सलटेन्सीको नाम लिएरै आफूलाई धम्की समेत दिएको भन्न भ्याइन । तर उनको परिवारलाई सामान्य सोधपुध भएको तर कुनै पनि धम्की नदिएको बाहिर आयो ।
कलेजले मान्यता पाउनु प¥यो नत्र हामी बिचल्लीमा पर्ने भयौ भन्दै टेलिभिजनमा रुवाबासी गरेकी खरेल कलेजको रजिस्ट्रेशन खारेज भएसँगै फेसबुकमार्फत खुसी व्यक्त गरेकी छन् । सोझो अर्थमा बुँझ्दा कलेज खारेज हुँदा सबैभन्दा बढी पीडित खरेल र उनी जस्तै १ हजारभन्दा बढी विद्यार्थी हुनुपर्ने हो तर उनी कलेजको मान्यता खारेज हुँदा किन खुसी भइन त ? यस्ता धेरै कुराले जन्मदिन मनाउन जम्मा भएका विद्यार्थीहरु कसैबाट प्रायोजित भएको देखिने आशंका गर्न सकिने अर्को कन्सलटेन्सी सञ्चालकको बुझाइ छ । त्यस्तै, सद्रिशाले परामर्श लिएको कन्सलटेन्सी सनराइजका सञ्चालकसँग पैसामा बार्गेनिङ गरी पैसा दिए आफू चुप लाग्ने नत्र राम्रो नहुने भन्दै लेखेको म्यासेज सार्वजनिक भयो । यसले खरेललाई नै ‘ब्याक फायर’ गरेको देखिन्छ ।

छानबिन समितिले के गरिरहेको छ ?
छानबिन समितिले सबैभन्दा पहिले तथ्यांक संकलन गर्ने काम गरिरहेको छ । शुक्रबार १० वटा कन्सलटेन्सीलाई पत्र काटेर सन् २०१६ देखि २०१९ सम्मका सम्पूर्ण देश र कलेज÷विश्वविद्यालय र विद्यार्थीको संख्या माग गर्नुका साथै एआईबीटी कलेजमा डिप्लोमा र नर्सिङका लागि गएका विद्यार्थीको नाम माग गरेको छ । साथै आइतबार बिहान बैठक बसी शैक्षिक परामर्श क्षेत्रमा क्रियाशिल संघहरु इक्यान, नेका, आइरिन, फेकन र नायरका प्रतिनिधीलाई भेट गरी आफू अन्तर्गतका सदस्यमध्ये कुन–कुन कन्सलटेन्सीले कति संख्यामा विद्यार्थीहरु पठाए भन्ने तथ्यांक माग गरेको छ ।
एआईबीटीले गत वर्ष सिंगापुरमा कार्यक्रम गरी दुई जना सरकारी कर्मचारीलाई समेत घुमाउन लगेका कारण समितिले त्यसतर्फ पनि ध्यान दिएको देखिन्छ । आफ्ना कर्मचारीहरुका बारेमा समेत अनुसन्धान सुरु गरेको समितिले तथ्यांक संकलन पनि कसरी काम अगाडि बढाउँछ यसै भन्न सकिने अवस्था छैन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अन्तर्वार्ता कार्यक्रम संशोधन गरिएको सूचना

काठमाडौं/१ असार – शिक्षा सेवा आयोगले खुला तर्फको निमावि तहको मध्यमाञ्चल विकास क्षेत्रको नेपाली र

गर्मीको कारण विद्यालयहरु बन्द

काठमाडौं/१ असार – वीरगन्ज महानगरपालिकाले अत्याधिक गर्मीको कारण महानगरपालिका भित्र रहेको सम्पूर्ण विद्यालय एक साताको

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE