अस्थायी शिक्षक आन्दोलन, परीक्षा र औचित्य

प्रकाशित मिति :2018-02-22 09:46:45

काठमाडौं/अस्थायी शिक्षकका लागि परीक्षाको विज्ञापन आह्वान गरेको अब एक वर्ष पुग्दैछ । गत वर्ष चैत १९ गते परीक्षाका लागि विज्ञापन आह्वान गरिएको थियो ।
जसमा हालसम्म परीक्षा चार पटक मिति निर्धारण भइसकेको छ । पहिलो पटक असार २४ गते हुने भनिएको परीक्षा अस्थायी शिक्षकको आन्दोलन र आयोगले आन्तरिक कारण देखाउँदै परीक्षाको स्थगीत गर्दै नयाँ मिति तय गरेको थियो ।
त्यसपछि पनि थप दुई वटा मिति तय भए तर उक्त मितिमा पनि परीक्षा हुन सकेन । र पछिल्लो समयमा अहिले चैत २३ गतेका लागि परीक्षा तोकिएको छ ।
तत्कालिन समयसम्म अस्थायी शिक्षकको आन्दोलनका कारण शिक्षा ऐनमा नवौं संशोधन भयो । तत्कालिन शिक्षामन्त्री गोपालमान श्रेष्ठले विरोधका बावजुत पनि अस्थायी शिक्षकलाई जसरी पनि समाधान गर्नुपर्ने उद्देश्यले शिक्षा ऐनमा नवौं संशोधनका लागि पहल गरे र पारित भयो ।


शिक्षामन्त्रीको विश्वास थियो, कि नवौं संशोधनले सबै अस्थायी शिक्षकको माग पूरा हुन्छ र लामो समयदेखि रही आएको अस्थायी शिक्षकको समस्या अब सकिन्छ । तर त्यसो भएन । कुनै पनि हालतमा हुने पनि थिएन ।
नवौं संशोधनले सबै अस्थायी, करार शिक्षकको समस्या समाधान हुन्छ भन्नेमा स्वयम शिक्षामन्त्री पनि विश्वस्त थिएनन् । यता आन्दोलनरत अस्थायी शिक्षकहरु पनि आफूले अगाडि सारेका मागहरु नवौं संशोधनमार्फत पूरा भए पनि सबै अस्थायी शिक्षकका माग पूरा हुँदैनन र फेरि पनि अर्को समूहले आन्दोलन गर्नैपर्छ भन्ने थाहा थियो ।
यती हुँदाहुँदै पनि सबै चुप लागेर शान्तसँग बसे । शिक्षामन्त्रीले चुनावका अगाडि अस्थायी शिक्षकलाई खुसी बनाउन खोजे भने आन्दोलन गरिरहेका केही अस्थायी शिक्षकहरु पनि आफूले खोजेको माग आफ्ना लागी पूरा भएको भन्दै अब पुग्यो है भन्दै आनन्दले बसे ।


अस्थायी शिक्षकमा माग नवौं संशोधनमार्फत पूरा भएको बारे ठीक र बेठिक आफ्नो ठाउँमा होला । त्यो भविष्यले निर्धारण गर्ला । तर एउटा कुरामा अस्थायी शिक्षकको आन्दोलन भने चुक्यो । त्यो के हो भने जब सबै अस्थायी शिक्षक मिलेर आन्लदोलन गरे भने एउटा समूहलाई मात्रै फाइदा पुग्ने गरी सहमति नगरिदिएको भए हुने थियो ।
एउटा मात्रै समूहलाई फाइदा पुग्दा अर्को समूह चोइटिएर जान्छ र फेरि पनि यस्तै आन्दोलन हुन्छ भन्ने आन्दोलनका नेतृत्वकर्ताले नबुझेका होइनन । प्राप्त उपलब्धी मै आफ्नो स्वार्थ पूरा भएपछि उनीहरु आन्दोलन सफल भएको ठान्दा अहिले फेरि बाँकी अस्थायी तथा करार शिक्षकहरुले सोही आन्दोलन गर्ने तयारीमा छन् ।
यसपटक शिक्षकहरु मात्रै छैनन्, शिक्षक बन्नका लागि हातमा लाइसेन्स लिएर बसेका ७ लाख विद्यार्थीहरु पनि छन् जो कुनै पनि हालतमा परीक्षा रद्द गरी आफ्नो हक र अधिकार प्राप्त गर्नका लागि लागी परेका छन् ।
शिक्षक सेवा आयोगले परीक्षाको मिति तय गरिसकेको छ । अस्थायी शिक्षकका मागहरु केही हदसम्म नवौं संशोधनमार्फत पनि भइसकेका छन् । तर २०७२ साल असोज २ गतेभन्दा पछाडिका शिक्षकका हकमा भने केही पूरा हुन सकेको छैन् ।
यसैबीच एउटा यस्तो समूह छ जो नवौं संशोधनबाट केही प्राप्त गरेको छैन र पनि परीक्षा छिटो होस भन्ने चाहन्छ । त्यो समूह जो आन्दोलनबाट प्राप्त उपलब्धीभन्दा पनि परीक्षा हलमा पुगेर प्राप्त गर्ने उपलब्धीमा विश्वास गर्छ ।
त्यो समूह जसरी पनि परीक्षा होस भन्ने चाहेको छ । परीक्षाबाट आफ्नो भाग्य कोर्न चाहन्छ । त्यसका लागि वर्षौ लगाएर मिहेनत गरेको छ । महिनौ कक्षाकोठामा गएर तयारी गरेको छ । जो कुनै पनि हालतमा प्रतिष्पर्धामा उत्रिएर आफू अब्बल भएको प्रमाणित गर्न चाहन्छ । यो त्यो समूह हो जो प्रतिष्पर्धामा विश्वास गर्छ न कि आरक्षणमा । परीक्षामा खरो उत्रन नसके आफूलाई वैकल्पिक बाटोमा जानका लागि बाटो खुल्ने पनि उक्त समूहले बुझेको छ ।
त्यसैले यस्तो समूहलाई पनि सम्बोधन गर्नुपर्छ । आन्दोलन गर्नेका कुरा मात्रै नसुनेर यस्ता मौन बसेर परीक्षाको व्यग्र प्रतिष्पर्धामा हुनेहरुका पनि कुरा सुन्नुपर्छ । अब उनीहरुका कुरा नसुन्नु भनेको उनीहरुप्रति अन्याय हुनु हो ।
त्यसैले आरक्षणका नाममा आन्दोलन गर्ने समूहलाई वार्ताका माध्यममार्फत एउटा सहमतिको विन्दुमा पु¥याएर अब छिटोभन्दा छिटो परीक्षा गर्नुको विकल्प छैन् । यो समस्या आजको होइन । वर्षौ अगाडिदेखिको हो । त्यसैले यो समस्यालाई जति लम्बाइयो उती बढ्ने हो । कम हुने होइन । त्यसैले सबै सन्तुष्ट र असन्तुष्ट पक्षलाई सहमतिको एउटै विन्दुमा ल्याएर परीक्षा सफल बनाउनु नै मुलुकको शिक्षा विकासको महत्वपूर्ण उपलब्धी हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एसईई नतिजामा ३ हजारभन्दा बढी विद्यार्थीको नतिजा त्रुटिपूर्ण

काठमाडौं/ ११ असार – शनिबार सार्वजनिक गरिएको एसईईको नतिजामा प्राविधिक गडबढीका कारण ३ हजारभन्दा विद्यार्थीको

८ विद्यार्थी संगठनले तीन दिन शैक्षिक हड्ताल गर्ने

काठमाडौं/११ असार – विभिन्न ८ वटा विद्यार्थी संगठनहरुले असार २०, २१ र २१ गते तीन

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE