शिक्षक सेवा आयोगको परीक्षा: एक समीक्षा

प्रकाशित मिति :2018-11-12 05:39:38

-दीपक एम.सी.

हालै शिक्षक सेवा आयोगले सञ्चालन गरेको परीक्षामा विभिन्न कमजोरी भए भनेर गुनासो आइरहेका छन् । प्रश्नपत्रमा भएका त्रुटी देखि परीक्षा केन्द्र तोकिएका स्थानहरु अनुपयुक्त स्थानमा तोकिएको भन्नेसम्मका गुनासो गरिएको छ। परीक्षा फाराम सङ्कलन अव्यवस्थित भएको जसका कारण परीक्षार्थीहरुको सिम्बोल नम्बर, बिषय, तह, परीक्षा केन्द्र सम्ममा त्रुटी फेला परेका छन् ।विविध कारण अझ त्यसमा पनि आयोगका कारणले परीक्षामा सहभागी हुनबाट बञ्चित भएका परीक्षार्थीप्रती को जिम्मेवार हुने भन्ने प्रशनहरु खडा भएका छन्। यसबाट युवाहरूमा शिक्षक पेशा प्रती बितृष्णा पैदा नहोला भन्न सकिँदैन। बिज्ञान र प्रबिधिको युगमा पनि पुरानै पद्धतिबाट आयोग चल्दा यस्ता समस्याहरु आएको सहजै अनुमान गर्न सकिन्छ।

 

लोक सेवा आयोगले निजामती सेवाका विभिन्न सेवाहरुका अलवा प्रहरी, सेना, संस्थान लगायतका परीक्षाहरु अत्यन्तै ब्यस्थितरूपमा सञ्चालन गरिरहेको परिवेशमा शिक्षक सेवा आयोगले तीन तहका शिक्षकहरुको परीक्षा लोक सेवा आयोगले जति  व्यबस्थित गर्न नसक्नु यसको चुनौतीको बिषय पनि हो। परीक्षा सञ्चालनमा नै टीका टिप्पणी भइरहदा नतिजा प्रकाशन हुदा सम्म कति हुने हो। शिक्षक सेवा आयोगलाई लाग्ने अर्को आरोप हो- समयमै नतिजा प्रकाशन गर्न नसक्नु। यसका अलवा यसले लोक सेवा  आयोग जस्तो कार्यतालिका बनाउन नसक्ने र बनाए पनि कार्यान्वयन गर्न नसक्ने भनेर पनि आरोप लाग्ने गर्दछ।

 

समयमै नतिजा प्रकाशन गर्न नसक्ने समस्यालाई लोक सेवाले जस्तो प्रारम्भिक परिक्षाको ब्यबस्था गरेर गर्न सकिन्छ। पहिलो पत्रमा अहिलेको ४० पुर्णाङ्कको बस्तुगत प्रश्नहरू वा त्यसलाई १०० पूर्णाङ्कको बस्तुगत प्रश्नहरु समेटेर प्रारम्भिक परीक्षा लिएर कम्प्युटर मार्फत प्रश्नपत्र जाच्दा छोटो समयमै (१/२ हप्तामै) हजारौ परिक्षार्थीको नतिजा सार्वजनिक गर्न सकिन्छ। यसमा अनुत्तीर्ण हुनेहरूलाई हटाएर दोस्रो पत्रको रूपमा बिषयगत प्रश्नहरु समटेर परीक्षा गराउदा अहिले भइरहेका भन्दा परीक्षार्थीको सङ्ख्या कम हुने हुदा कपी सङ्ख्या पनि कम हुन्छ जसले गर्दा कम समयमै नतिजा प्रकाशन गर्न सकिन्छ।

 

फाराम सङ्कलन गर्न शिक्षा बिकास तथा समन्वय एकाइलाई अधिकार तथा जिम्मेवारी सहित दिनुपर्छ। केही कमजोरी भएमा उनीहरूलाई तत्कालै कार्वाही समेत गर्नुपर्दछ। शिक्षा बिकास तथा समन्वय एकाइमा आयोगको एउटा छुट्टै शाखा वा त्यहाको कर्मचारीलाई हेर्ने जिम्मेवारी दिनुपर्छ। साथै सम्बन्धित कर्मचारीलाई नियमित उपयुक्त तालिमको समेत ब्यबस्था हुदा अहिले देखिएका समस्या धेरै हदसम्म कम हुनसक्दछन। अझ अनलाइनबाटै फर्म भर्ने ब्यस्था मिलाउन सके धेरै समस्याहरूको न्यूनीकरण हुन्छ।

 

आयोगको परीक्षा उत्तीर्ण भएर आएका शिक्षकहरूले प्रभावकारी ढंगबाट शिक्षण गर्न नसकेको भन्ने गुनासो पनि यदा कदा सुन्न सकिन्छ। यस्तो हुनु आयोगले सञ्चालन गर्ने परीक्षामाथी प्रश्न चिन्ह खडा हुनु हो। आयोगले बिशेषत: लिखित परीक्षा र सैद्धान्तिक प्रश्नहरु सोध्ने हुदा यस्ता समस्याहरू आएको पाइन्छ। त्यसैले समय परिवेश सङ्गै पाठ्यक्रम परिमार्जन तथा परिवर्तन गर्दै लैजानुपर्ने हुन्छ। नियमावलीमा लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा लिने भन्ने उल्लेख भए पनि प्रयोगात्मक परीक्षा लिएको पाइदैन। यसलाई उपयुक्त कार्यबिधी बनाई प्रयोग गर्नुपर्दछ। शिक्षण यस्तो पेशा हो जसमा शिक्षले कति जानेको छ भनेर मात्रै पुग्दैन। शिक्षकमा ज्ञान हुनुका साथ साथै सिकाउने उपयुक्त सीप समेत आवश्यक पर्दछ। अत: प्रयोगात्मक परीक्षा समेत सञ्चालन गरेमा उल्लेखित समस्याको निराकरण हुन सक्दछ।

 

देश सङ्घीय संरचनामा जाँदै गर्दा पुरानो नियमावलीको कारणले कार्यान्वयनमा देखा परेका जटिलताहरु हटाउन यसलाई संशोधन गरि आयोगलाई सोही अनुरुप सञ्चालन गर्नुपर्दछ। समय समयमा समयतालिका अनुसार आयोगले बिज्ञापन गर्नुका साथै ब्यस्थित तवरले परीक्षा सञ्चालन गर्न सकेमा बिदेशीने हजारौं युवाहरु यस तर्फ आकर्षित हुने थिए। युवाहरूलाई शिक्षण क्षेत्रमा संलग्न गराउन सकेमा शिक्षामा तुलनात्मक रूपमा प्रगति हुन सक्छ। जसबाट अन्य क्षेत्रहरूको पनि बिकास सम्भव हुन्छ।

(दीपक एम.सी. २०७१ मा शिक्षक सेवा आयोगले लिएको परीक्षा उत्तीर्ण भइ गौमुखी मा.वी. प्युठानमा अध्यापनरत मा.वि.तहका अङ्ग्रेजी शिक्षक हुनुहुन्छ।)

 

 

 

    Comment Here!

Related NEWS
मुख्य खबर

परीक्षा आवेदन फाराम सम्बन्धि सूचना

काठमाडौं/२४ मंसिर–त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले वार्षिक परीक्षा प्रणाली अन्तर्गत विज्ञान

विद्यालय तोडफोडको आरोपमा विद्यार्थी पक्राउ

काठमाडौं/२४ मंसिर– भरतपुर महानगरपालिका ८ गौरीगञ्जमा रहेको श्री माद्यमिक विद्यालयमा तोडफोड गरेको आरोपमा आइतबार बिहान

Read more
ताजा अपडेट
Optimization WordPress Plugins & Solutions by W3 EDGE